०९ साउन २०८३, शनिबार

पानीमाथि वडा कार्यालय, सेवासँगै बोटिङको आनन्द पनि

पानीमाथि वडा कार्यालय, सेवासँगै बोटिङको आनन्द पनि

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पानीमाथि वडा कार्यालय भवन निर्माण गरेको छ । 

पानीमाथि निर्माण गरिएको यो मुलुककै एक मात्र सरकारी कार्यालय भएको तिलोत्तमाको दाबी छ ।

नगरपालिकाले वडा नम्बर ११ को कार्यालय भवन पानीमाथि निर्माण गरेको हो । कार्यालयको वरिपरि पोखरी व्यवस्थित गरिएको छ । त्यहाँ माछा छोडिएको छ भने बोटिङ सेवा सञ्चालन गर्नुका साथै रात्रीकालीन समयमा समेत आकर्षक बत्तीहरूले मनमोहक बनाइएको छ । 

वडा कार्यालयको नगरप्रमुख वासुदेव घिमिरे र उपप्रमुख जगेश्वरदेवी आचार्यले उद्घाटन गरेका छन् । वडा नम्बर ११ स्थित मद्रहानीमा रहेको ऐतिहासिक पोखरी स्थलमा पर्यटकीय वडा कार्यालय भवन निर्माण गरिएको हो ।

करीब ६० लाखको लागतमा वडा कार्यालय भवन निर्माण भएको हो । आयाम निर्माण सेवा तिलोत्तमासँग ६३ लाखको ठेक्का सम्झौता भएकोमा ६० लाखमा निर्माण सम्पन्न भएको तिलोत्तमा नगरपालिकाका इन्जिनियर प्रदीप वनले जानकारी दिए ।

यसले सेवा प्रवाह मात्र नभई आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत सघाउ पुग्ने नगर प्रमुख  वासुदेव घिमिरेले बताए । ‘अब वडा कार्यालयमा आउने सेवाग्राहीहरू सेवा लिनका लागि मात्र आउँदैनन्, बोटिङको आनन्द लिनका लागि पनि आउँछन्,’ उनले भने ।  

वडा नम्बर ११ का अध्यक्ष मुक्तिनारायण चौधरीले स्थानीय नागरिकको सुझावको आधारमा नगर कार्यपालिकाबाट निर्णय गराएर पोखरीमाथि वडा  कार्यालय भवन  निर्माण गरिएको हो । 

‘कार्यालयमा आउने सेवाग्राहरुबाट आन्तरिक पर्यटनको पनि प्रवद्र्धन होस् भन्ने हेतुले पोखरीमा माछासमेत छाडिएको र बोटिङसमेत सञ्चालन गरिएको हो, यसले आम्दानी वृद्धमा पनि सघाउ पुर्‍याउँछ,’ उनले  भने । 

कार्यालय उदघाटनका अवसरमा नगर प्रवक्ता सुरेन्द्र श्रीले पर्यटकमैत्री वडा कार्यालय भएको भन्दै यो मुलुकमै नमूना भएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्