०९ साउन २०८३, शनिबार

राजीनामाको दबाब बढेपछि जसपाले गर्‍यो मन्त्री यादवको बचाउ

राजीनामाको दबाब बढेपछि जसपाले गर्‍यो मन्त्री यादवको बचाउ

हिंसा भड्काउने खालको अभिव्यक्ति दिएकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको जनता समाजवादी पार्टी (जसपा) नेपालले बचाउ गरेको छ । मन्त्री यादवको चौतर्फी आलोचना भएकाले पदबाट राजीनामा दिनुपर्ने दबाब बढेपछि जसपाले शनिवार एक विज्ञप्ति जारी गर्दै उनको बचाउ गरेको हो । 

जसपाले मन्त्री यादवको प्रमुख आतिथ्यतामा रौतहटमा आयोजित ‘बलिदानी दिवस’ को कार्यक्रमलाई जनमत पार्टीका नेता कार्यकर्ताले कार्यक्रमलाई बिथोल्ने, आतंक मच्चाउने र हिंसा भड्काउने क्रियाकलापमा संलग्न रहेको भनेको छ । 

‘रौतहटमा आयोजित ‘बलिदानी दिवस’ को कार्यक्रमलाई जनमत पार्टीका नाममा उक्त पार्टीका नेता तथा कार्यकर्ताहरु सुनियोजित ढंगबाट लाठी, भाँटा, ढुंगा आदि लिई उक्त कार्यक्रमलाई अवरोध गर्ने, कार्यक्रम बिथोल्ने, आतंक मच्याउने र हिंसा भड्काउनेजस्ता गैर–राजनीतिक एवम् अपराधिक क्रियाकलापमा संलग्न थिए,’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त पार्टीद्वारा गराइएका यस्ता उदण्ड, गैर–राजनीतिक, उच्छृंखल, अभद्र, अशोभनीय र अपराधिक कार्यको जसपा नेपाल घोर विरोध एवम् भर्त्सना गर्दछ ।’

साथै जसपाले यस्ता अपराधिक कार्य नगर्न सचेत पनि गराएको छ । यस्तै जसपाले अमर्यादित क्रियाकलाप नियन्त्रण गर्न सरकारसँग आग्रहसमेत गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्