०५ साउन २०८३, मंगलबार

जर्मनीका जलसेना प्रमुखले के भने त्यस्तो ? दिनुपर्‍यो राजीनामा ! (भिडियो)

माघ ९, २०७८
जर्मनीका जलसेना प्रमुखले के भने त्यस्तो ? दिनुपर्‍यो राजीनामा ! (भिडियो)

जर्मनीको जलसेनाका प्रमुखले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई सम्मान दिनुपर्ने भनी बयान दिएपछि विवाद उठेकाले राजीनामा दिएका छन् । 

रुसले युक्रेनमाथि आक्रमण गर्न लागेको डरका बीच यो बयान आएको हो । 

भारतको राजधानी नयाँ दिल्लीमा एक थिंकट्यांकले आयोजना गरेको बैठकमा भाइस एड्मिरल के–अकिम श्योनबाखले युक्रेनमाथि रुसले आक्रमण गर्न चाहेको कुरा बकवास भएको र पुटिनले खोजेको सम्मान मात्र हो भने । 

‘हे ईश्वर, कसैलाई सम्मान दिनु कम खर्चिलो हुन्छ वा पटक्कै खर्चिलो हुन्छ । उनले माग गरेको सम्मान दिन सजिलो छ र उनी सम्मानका हकदार पनि छन्,’ श्योनबाखले बैठकमा बयान दिए । रुस पुरानो र महत्त्वपूर्ण मुलुक भएको उनको भनाइ छ । 

रुसले युक्रेनको सीमामा हजारौं सैनिक तैनाथ गरेको छ ।

मस्कोले क्राइमिया आफूमा मिसाइसकेको र युक्रेनले त्यो भूमि कहिल्यै फिर्ता नपाउने पनि उनले बताए । 

‘क्राइमिया प्रायद्वीप गइसक्यो, त्यो कहिल्यै फर्किने छैन । तथ्य यही हो,’ उनले बताए । पश्चिमी मुलुकहरूले क्राइमिया रुसले लिएको स्वीकार गरेका छैनन् र त्यसलाई उल्ट्याउन खोजेका छन् । 

शनिवार श्योनबाखले राजीनामा दिएको घोषणा गरे । जर्मनीको रक्षा मन्त्रालयका एक अधिकारीले श्योनबाख तत्कालै पदबाट हट्ने जानकारी दिए ।

त्यसबाहेक श्योनबाखले जर्मनी र कम्युनिस्ट चीनको बीचमा क्रिस्चियन रुस आवश्यक भएको भनी अर्को विवादास्पद बयान पनि दिएका थिए ।

शनिवार नै युक्रेनका परराष्ट्रमन्त्री दिमित्रो कुलेबाले जर्मन जलसेना प्रमुखको भनाइमा चित्त नबुझाएर जर्मन राजदूतलाई बोलाएर विरोध गरेका थिए । 

जर्मनीले युक्रेनलाई हतियार दिन नमानेकोलाई पनि कुलेबाले निन्दा गरे । युरोपको एकतालाई अवमूल्यन गर्दै पुटिनलाई प्रोत्साहन नगर्न उनले बर्लिनलाई आग्रह गरेका छन् । 

अमेरिका, बेलायत र बाल्टिक राज्यहरूले युक्रेनलाई हतियार पठाउने सहमति जनाएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्