
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा एकतर्फी संरचना निर्माण भइरहँदा पनि भारतसँग कुरा गर्न नसकेर सरकारले निरीहता प्रकट गरेको आरोप लगाएको छ । मुलुकको बाह्य सम्बन्धमा गम्भीर असन्तुलन र विचलनहरू देखा परेको समेत एमालेको दाबी छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतवार एक विज्ञप्ति प्रकाशित गरी राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर स्वतन्त्र र सन्तुलित विदेश नीति अवलम्बन गर्नुपर्नेमा सरकार नेपालको राष्ट्रिय हितमाथि निरन्तर आँच पुगिरहँदा पनि मूकदर्शक बनेको आरोप लगाएका हुन् ।
‘भारतसँग ऐतिहासिक सन्धि, दस्तावेज र प्रमाणका आधारमा सीमा विषय टुंगो लगाउन सार्थक पहल गर्नु त परको कुरा- लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायत नेपाली भू-भागमा भारतबाट एकतर्फी संरचना निर्माण भइरहँदा आपत्ति जनाउँदै नेपालको अडान स्पष्ट पार्न समेत नसक्ने निरीहता प्रकट गरिरहेको छ,’ ओलीले भनेका छन् ।
एमालेले सरकारमाथि भारतीय सुरक्षाकर्मीद्वारा तुइँन चुँडाएर महाकालीमा बेपत्ता पारिएका जयसिंह धामीका सम्बन्धमा मौन बसेको सरकार राष्ट्रिय हित, स्वाभिमान र नागरिकको जीवनरक्षासँग जोडिएका कैयौं प्रश्नमा लाचार बनेको समेत आरोप लगाएको छ ।