०५ साउन २०८३, मंगलबार
एमाले धारणा

चुनावको कार्ड फ्याँकेको भन्दै गठबन्धनलाई एमालेको प्रश्न- गत वर्ष देखाएको अराजकताप्रति माफी माग्नु पर्दैन ?

चुनावको कार्ड फ्याँकेको भन्दै गठबन्धनलाई एमालेको प्रश्न- गत वर्ष देखाएको अराजकताप्रति माफी माग्नु पर्दैन ?

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको निर्वाचनलाई विभिन्न बहानामा पर धकेल्न सत्ता गठबन्धनले वैशाखमा प्रतिनिधि सभाको चुनाव गर्ने कार्ड फ्याँकेको आरोप लगाएको छ । 

२०७९ वैशाखमा प्रतिनिधि सभाको चुनाव गर्ने प्रस्ताव असल मनसायले नभई स्थानीय तहको निर्वाचनलाई पर धकेल्ने र मुलुकमा राजनीतिक अन्योल सिर्जना गर्ने गलत नियतका साथ अगाडि सारिएको एमालेको निष्कर्ष छ । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतवार एक विज्ञप्ति प्रकाशित गरी जुनसुकै बेलामा पनि चुनावको सामना गर्न तयार रहेको तर स्थानीय तहको चुनाव सार्न नपाइने बताएका हुन् । 

‘हाम्रो पार्टी गत वर्षदेखि नै ताजा जनादेशको पक्षमा उभिएको हो र आज पनि हामी यो मान्यतामा अडिग छौं । हामी जुनसुकै बेलामा निर्वाचन भए पनि सामना गर्न तयार छौं । साथै, हाम्रो स्पष्ट अडान छ– यस बहानामा स्थानीय तहको निर्वाचन पर धकेल्न पाइँदैन,’ ओलीले भनेका छन् । 

गत वर्ष ताजा जनादेशको माग गर्दा आफूहरूमाथि अनेकौं प्रहार गरिएको भन्दै ओलीले जनताको बीचमा जानुलाई ‘प्रतिगमन’ र जनादेशविपरीत जस्केलाबाट सरकार बनाउनुलाई ‘अग्रगमन’ भनिएको टिप्पणी गरेका छन् । 

‘प्रतिनिधि सभाको कार्यकाल पाँच वर्ष नै हुनुपर्छ भन्ने तर्क गर्दै यसको पुनस्र्थापनालाई ‘संविधानको जीत’का रुपमा व्याख्या गर्ने नेताहरू आज कुन नैतिकता, कुन तर्क र कुन आधारमा ‘अर्ली इलेक्सन’ को कुरा गर्दैछन् ? यसो गर्नुअघि उनीहरूले गत वर्ष सडक आन्दोलनका नाममा प्रदर्शन गरेको अराजकताका लागि जनतासँग क्षमायाचना गर्नु पर्दैन ?,’ ओलीले भनेका छन् । 

एमालेले स्थानीय तहको चुनाव वैशाखमै हुनुपर्ने माग गर्दै चुनाव सार्न गरिने कुनै पनि बहानाबाजी स्वीकार्य नहुने एमालेले बताएको छ । 

हेर्नुहोस् विज्ञप्ति


 

salt training

कमेन्ट गर्नुहोस्