
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कोरोना विरुद्धको २४ लाख मात्रा खोप हराएकोबारे सरकारको जवाफ माग गरेको छ । एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार एक विज्ञप्ति प्रकाशित गरी २४ लाख खोपबारे सरकारसँग जवाफ माग गरेका हुन् ।
‘यो सरकार महामारीको नयाँ लहरमा गैरजिम्मेवार र निष्प्रभावी देखिएको छ । २४ लाखभन्दा बढी मात्रा खोप हराएको चरम गैरजिम्मेवार र लज्जास्पद अभिव्यक्ति सरकारी अधिकारीहरूले नै दिइरहेका छन् । कहाँ गयो त्यति धेरै मात्राको खोप ? कसले लुकायो वा बेच्यो ? यसका लागि को जिम्मेवार छ ?,’ ओलीको विज्ञप्तिमा भनिएको छ, ‘एकातिर यति ठूलो मात्रामा खोप गायब पारिएको छ भने अर्कातिर भण्डारमा भएको खोपको सही वितरण हुन नसक्दा हजारौं नागरिकहरू खोपबाट वञ्चित छन् । अरू त अरू, खोप लगाउन आवश्यक सिरिन्ज र अत्यन्त आधारभूत मानिएको औषधि सिटामोलसमेत उपलब्ध गराउन नसक्नुले सरकार कति गैरजिम्मेवार छ भन्ने स्पष्ट हुन्छ ।’
यसअघि स्वास्थ्य मन्त्रालयका सचिवले २० लाख भन्दा बढी खोपको लेखाजोखा नभएको सार्वजनिक अभिव्यक्ति दिएका थिए ।