
कोरोना संक्रमित पत्रकारका लागि सहज उपचारको व्यवस्था मिलाउने गरी नेपाल पत्रकार महासंघ रुपन्देही र लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलबीच सम्झौता भएको छ ।
आइतवार अस्पताल परिसरमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकाल र पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोख्रेलकाबीच उपचार सम्झौता भएको हो ।
सम्झौताअनुसार पत्रकारहरूलाई मात्र पीसीआर परीक्षण निःशुल्क गर्ने, कोरोना संक्रमित एचडीयु बेडमा महासंघको सिफारिस र प्राथमिकताको आधारमा एक बेड निःशुल्क उपलब्ध गराउने, कोरोना संक्रमित सघन उपचार कक्ष (आईसीयू) बेडमा महासंघको सिफारिस र प्राथमिकताको आधारमा एक बेड निःशुल्क उपलब्ध गराउने र ज्वरो क्लिनिकमा महासंघको सिफारिसकै आधारमा निःशुल्क परामर्श सेवा उपलब्ध गराउने उल्लेख छ ।
सम्झौता कार्यक्रममा बोल्दै अस्पतालका मेसु डा. ढकालले नागरिकलाई सुसूचित गराउने सन्दर्भमा फ्रन्टलाइनमा खटिई कार्य गर्ने पत्रकार तथा सञ्चारकर्मीहरूलाई तेस्रो लहरको बेला सहज र प्रथमिकताका साथ उपचार प्रबन्ध मिलाइदिन महासंघको पत्रअनुसार अस्पतालको निर्णयपछि सेवा व्यवस्थापन गरिएको बताए ।
महासंघ रुपन्देही अध्यक्ष रामराज पोखरेलले अस्पतालबाट आगामी दिनमा पनि थप सुविधा पाइनेमा आशा व्यक्त गरेका थिए ।