१२ साउन २०८३, मंगलबार
माेबाइलकाे गुल्जार बजार

६ महिनामा भित्रियो साढे २५ अर्बको मोबाइल, ग्राहककाे रुचिअनुसारकाे फराकिलाे बजार

माघ ९, २०७८
६ महिनामा भित्रियो साढे २५ अर्बको मोबाइल, ग्राहककाे रुचिअनुसारकाे फराकिलाे बजार

चालु आर्थिक वर्षको पहिलो ६ महिनमा (साउनदेखि पुससम्म) मात्रै नेपालमा साढे २५ अर्ब रूपैयाँभन्दा बढीको मोबाइल फाेन भित्रिएको छ । 

हरेक महिना करीब साढे ४ अर्ब मूल्य बराबरको मोबाइल आयात हुँदा पनि नेपाली बजारमा मोवाइलको माग धान्न धौधौ पर्नेगरेको व्यवसायीहरू बताउँछन् । 

भन्सार विभागको तथ्यांकअनुसार, गएको ६ महिनामा मात्रै २५ अर्ब ६२ करोड ९२ लाख ५३ हजार रुपैयाँको मोबाइल आयात भएको छ ।

त्यसलाई मासिक रूपमा हिसाब गर्ने हो भने औसमतमा हरेक महिना ४ अर्ब २७ करोड रूपैयाँको मोबाइल फोन नेपालले आयात गर्दै आएको छ ।

यस वर्षको ६ महिनामा ३५ लाख थान मोवाइल नेपाल भित्रिएको भन्सार विभागको तथ्यांक छ । यो गत वर्षको सोही अवधिको भन्दा एक लाख १९६ थान कम हो । 

तर, मूल्यको  हिसाबमा भने अघिल्लो वर्षको तुलनामा यस वर्ष मोबाइल फोनको आयात बढेको छ । 

यस वर्षको ६ महिनामा गत वर्षभन्दा ४ अर्ब ९९ करोड ८९ लाख ३१ हजार रूपैयाँ बढीको मोवाइल सेट आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

गत आर्थिक वर्षको पहिलो ६ महिनामा २० अर्ब ६३ करोड ३ लाख रुपैयाँको मोवाइल फोन आयात भएको थियो । 

गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो ६ महिनामै २४.२३ प्रतिशतले मोवाइल फोनको आयात बढेको हो ।

हरेक महिना आयात भएका मोबाइल फोन त्यही महिनामा बिक्री भइसक्ने व्यवसायीहरू बताउँछन् । बैंक तथा वित्तीय क्षेत्रमा लगानी योग्य पुँजी (तरलता) कम भएका कारण आउनुपर्ने जति मोबाइल फोन आउन नसकेको मोबाइल आयात संघका अध्यक्ष दीपक मल्होत्रा बताउँछन् ।

‘मोबाइल फोन जति आए पनि बिक्री भइहाल्छ । स्टकमा रहँदैन । बैंकिङ प्रणालीमा तरलता अभाव हुँदा त्यसको असर मोबाइलको ब्यापारमा पनि परेको छ’, मल्होत्राले भने, ‘ग्राहक खर्च गरिहाल्न तयार नभएको कारण दुई महिनादेखि मोबाइलको व्यापार पनि स्लो–डाउन छ ।’

दैनिक उपभोग्य बस्तुहरूमा नेपालको परनिर्भरता बढ्दै गइरहेको चिन्ता व्यक्त भइरहेको अवस्थामा विलाशिताको साधन मानिने मोबाइल फोनको आयात पछिल्लो समयमा आश्चर्यजनक रूपमा बढ्दै गएको छ । 
सस्ता मोबाइलको तुलनामा महंगो मूल्य पर्ने मोबाइल फोन आयातको संख्या पनि दिनप्रतिदिन बढिरहेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

फिचर वा बार फोन भन्दा स्मार्ट फोनमा ग्राहकको ध्यान केन्द्रित भएको हुँदा महंगा मोबाइलको बिक्री पनि बढी हुने गरेको व्यवसायीहरू बताउँछन् ।
 

महंगा मोबाइलले बढायो कारोबार

पछिल्लो समय स्मार्ट फोनको प्रयोगकर्ता बढेका छन् । कोरोना महामारीका कारण शिक्षण संस्थाहरूले अनलाइको माध्यमबाट पढाउन थालेकाले पनि ग्राहक स्मार्ट फोन किन्न बाध्य भएका थिए । 
अर्कोतर्फ, युवा पुस्ताले नयाँ फिचरको फोनमा रूची राख्ने हुँदा महंगा मोबाइलको कारोबार बढिरहेको व्यवसायीहरू बताउँछन् ।

व्यवसायी मल्होत्रा भन्छन्, ‘मोबाइल फोन जति धेरै महंगो भयो त्यति धेरै फिचर हुन्छ । यसो हुँदा आवश्यकता र पहुँच अनुसार मोबाइल बोक्ने जमातको रोजाइ पनि महंगोतर्फ गएको छ ।’ 

उनका अनुुसार नयाँ सुविधा मोवाइल फोन बजारमा आउनसाथ मोवाइल फेर्ने समूह ठूलो रहेको छ । मोबाइल फोन निर्माता कम्पनीले सार्वजनिक गरेदेखि नै बुकिङ गरेर कुरेर बस्ने समूह पनि रहेको उनले बताए । 

नेपालमा सामसुङ मोबाइलको आधिकारिक बिक्रेता आइएमएस ग्रुपका अध्यक्षसमेत रहेका मल्होत्राका अनुसार हालसम्म नेपालमा भित्रिएको महंगो मोबाइल सामसुङको जेड फोल्ड–३ हो । ५१२ जिबि स्टोरेज क्षमता भएको यो मोबाइलको मूल्य २ लाख २९ हजार रूपैयाँ छ । 

यो मोबाइल नेपाली बजारमा आएको तीन महिना मात्रै भयो । तीन महिनामै जेड फोल्ड–३ मोवाइल १८ सय वटा बिक्री भइसकेको उनले बताए ।

उनका अनुसार, यो मोबाइल नेपाली बजारमा आउनु अघि नै एक हजार वटा बुकिङ भइसकेको थियो । मोबाइल नेपाली बजारमा आएपछि पनि थप ८ सय वटा बिक्री भइसकेको उनले बताए । 

मोबाइल ‘चिप’को अभावले आउनै छाड्यो सस्ता फोन

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा मोबाइलमा प्रयोग हुने ‘चिप’को अभावले सस्ता फोन आउन छोडेको मोबाइल एशोसिएसनका सचिव तथा न्यूरोडका मोबाइल व्यापारी मुकुन्द बास्कोटाले बताए । 

उत्पादक कम्पनीले मोबाइलमा प्रयोग हुने चिप महंगा फोनमा प्रयोग गर्न स्टोर गर्ने गरेका कारण अन्तर्राष्ट्रिय बजारमै अभाव हुने गरेको छ । जसले गर्दा सस्ता फोन उत्पादन पनि कम हुने गरेका छन् ।

‘फिचर फोनमा प्रयोग हुने चिप स्मार्ट फोनमा प्रयोग हुँदा राम्रो नाफा आउने भएकाले उत्पादक कम्पनीले महंगा मोबाइलमै प्रयोग गर्छन । त्यसो हुँदा सस्तो फोन उत्पादन हुनै छाडिसक्यो’, बास्कोटाले भने । 

बास्कोटाका अनुसार बजारमा अहिले फिचर फोनको अभाव छ । त्यसैगरी, १० देखि २० हजार रूपैयाँसम्म मूल्यका मोबाइल फोन पनि अभाव देखिएको छ । 

‘ग्राहकले १५ हजार रुपैयाँसम्मको मोबाइल फोन किन्ने मनस्थिति बनाएर गएको छ भने कि त फर्कनुपर्छ होइन भने २० हजार रुपैयाँ वा त्यसभन्दा माथिको फोन किन्नुपर्ने बाध्यता छ’, बास्कोटाले भने ।  

गत वर्ष भन्दा एक लाख थान कम मोवाइल फोन भित्रदा पनि मूल्यको आकार बढ्को कारण नै अन्तर्राष्ट्रिय बजारमा चिपको अभावलाई मान्न सकिने व्यवसायीहरूको भनाई छ ।

बास्कोटाका अनुसार, बजारमा अहिले सबैभन्दा बढी बिक्री हुने मोबाइल २५ देखि ३० हजार रुपैयाँका छन् ।

salt training

कमेन्ट गर्नुहोस्