२६ जेठ २०८३, मंगलबार

सशस्त्र प्रहरीको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले निर्वाचनबारे भने यस्तो !

माघ १०, २०७८
सशस्त्र प्रहरीको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले निर्वाचनबारे भने यस्तो !
तस्वीर सौजन्य : गोरखापत्र दैनिक

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी एक वर्षभित्र सम्पन्न हुने तीन तहका निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र स्वतन्त्र हुने बताएका छन्। सशस्त्र प्रहरी बलको २१औँ स्थापना दिवसका अवसरमा आइतबार उनले तीनै तहका निर्वाचन शान्तिपूर्ण र भयरहित बनाउन सरकार लागिरहेको बताए ।

प्रधानमन्त्री देउवाले भने, “सरकारको यो निर्वाचन अभियानलाई सफल पार्न सशस्त्र प्रहरीको अहम् भूमिका छ, सशस्त्र प्रहरी सङ्गठनप्रति आमनागरिकको भरोसा पनि रहेको छ ।” आमनागरिकको जीउधनको सुरक्षा र मुलुकमा शान्ति अमनचयन कायम गर्नु नै सरकारको पहिलो प्राथमिकता भएको बताउँदै उनले नागरिकलाई सुरक्षाको प्रत्याभूति गरी जीउधनको रक्षाका लागि अहोरात्र खटेर काम गर्न सबै सुरक्षा निकायलाई निर्देशन दिए।

“सशस्त्र प्रहरीले मुलुकको शान्ति सुरक्षा, अमनचयनमा महत्वपूर्ण भूमिका खेलेको छ, आगामी दिनमा अझै सशक्त ढङ्गले काम गरोस् भन्ने जनअपेक्षा रहेको छ । सशस्त्र प्रहरीसहित अन्य सबै सुरक्षा निकायले प्रभावकारी रूपमा काम गर्न जरुरी छ”, उनले भने । आमनागरिकको स्वतन्त्र र शान्तिपूर्ण तरिकाले बाँच्न पाउने अधिकारको रक्षाका लागि सरकारका सबै अङ्ग लाग्नुपर्ने बताउँदै प्रधानमन्त्री देउवाले भने, “सुरक्षाको अनुभूति सर्वसाधारणले गर्न सक्नुपर्छ । त्यसका लागि सबै सुरक्षा निकाय उत्तिकै जिम्मेवार हुनुपर्छ ।” गोरखापत्र दैनिकमा लक्ष्मीप्रसाद उपाध्यायले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्