
बैंकहरूले निर्यातयोग्य उद्योगहरूलाई विदेशी मुद्रामा प्रदान गर्दै आएको कर्जाको ब्याज सम्बद्ध देशको बेञ्चमार्क ब्याजदरका आधारमा निर्धारण गर्नुपर्ने भएको छ ।
राष्ट्र बैंकले आइतवार निर्देशन जारी गर्दै हालसम्म निर्यातका लागि विदेशी मुद्राको कर्जामा ब्याजदर निर्धारण गर्न लिने आधार ‘लाइबोर दर’लाई हटाएर ‘बेन्चमार्क ब्याजदर’ प्रयोग गर्न निर्देशन दिएको हो ।
नयाँ प्रावधानअनुसार बैंकहरूले तयारी पोशाक, गलैंचा, पश्मिना, हस्तकलालगायत वस्तु निर्यातकर्तालाई परिवत्र्य विदेशी मुद्रामा ‘प्रि–सिपमेन्ट‘ र ‘पोस्ट–सिपमेन्ट’ कर्जा प्रवाह गर्दा एकवर्षे बेन्चमार्क ब्याजदरमा १ दशमलव ७५ प्रतिशत थप गरी कर्जाको ब्याजदर निर्धारण गर्नुपर्नेछ ।
हालसम्म विदेशी मुद्राको ब्याजदर लाइबोर दरका आधारमा निर्धारण हुँदै आएको थियो । बैंकहरूले लिवर दरमा १ दशमलव २५ प्रतिशत थप गरी विदेशी मुद्राको कर्जाको ब्याजदर निधारण गर्दै आएका थिए ।
अन्तरराष्ट्रिय रूपमा लिवर दरको प्रयोग हट्दै गएकाले नेपालमा पनि यसलाई हटाइएको हो । यसबाट निर्यातयोग्य कर्जाको ब्याजदरमा भने प्रभाव नपर्ने राष्ट्र बैंकले जानकारी दिएको छ । आर्थिक अभियान दैनिकमा खबर छ ।