हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सोमबार बिहान सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ। यस्तै सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यस्तै केही स्थानमा हिमपात पनि छ ।
महाशाखाले सोमबार दिउँसो पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्यतया बदलीको सम्भावना रहेको औंल्याएको छ ।
यस्तै सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
यस्तै राति पनि प्रदेश नं १, मधेस प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।