०८ साउन २०८३, शुक्रबार

बार्सिलोनाले जित्दा रियल म्याड्रिड बराबरीमा रोकियो

बार्सिलोनाले जित्दा रियल म्याड्रिड बराबरीमा रोकियो

स्पेनिस ला लिगामा बार्सिलोनाले जित निकाल्दा उपाधि दौडमा रहेको रियल म्याड्रिड बराबरीमा रोकिएको छ ।

आइतवार राति भएको खेलमा बार्सिलोनाले डिपोर्टिभो अलाभेसलाई उसैको मैदानमा १–० गोलले हरायो । घरेलु मैदानमा रियल म्याड्रिड इल्चेसँग २–२ गोलको बराबरीमा रोकियो ।

बार्सिलोनाको कठिन जितमा फ्रान्की डि जोङले निर्णायक गोल गरे । फ्रान्कीले ८७औं मिनेटमा फेरान टोरेसको पासमा गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण जित दिलाए ।

घरेलु टोलीलाई दबाब दिँदै ७६ प्रतिशत बल पोसेसन राखेपनि बार्सिलोनालाई गोल गर्न निकै संघर्ष गर्नुपरेको थियो । यता खेलभर रक्षात्मक रणनीति अपनाएको अलाभेस अन्तिममा सम्हालिन नसक्दा हार खेप्न बाध्य बन्यो ।

इन्जुरी समयमा जोस मेनडिलीबार सोझै रातो कार्ड पाउँदै बाहिरिएपछि अलाभेसले १० खेलाडीमा खेल सकेको थियो । बार्सिलोनाका पेड्री ‘म्यान अफ दिन म्याच’ भए । जितसँगै बार्सिलोना पाँचौं स्थानमा उक्लिएको छ । बार्सिलोनाले २१ खेलबाट ३५ अंक बनाएको छ । पराजित अलाभेस १७ अंक सहित १९औं स्थानमा छ ।

यसै गरी अर्को खेलमा शीर्ष टोली रियलले दुई गोलले पछि परेर पनि बराबरी गोल फर्कायो । प्रतिस्पर्धात्मक खेलमा इल्चेका लुकास बोयले ४२औं र पेरे मिल्लाले ७६औं मिनेटमा गोल गरेका थिए । यसअघि ३३औं मिनेटमा रियलका कप्तान करिम बेन्जेमा पेनाल्टीमा चुक्दा रियलले दबाब झेलेको थियो ।

अलाभेसको दुई गोलपछि जोसिएको रियलले ८२औं मिनेटमा पहिलो गोल फर्कायो । लुका मोड्रिचले पेनाल्टीमा गोल गर्दै रियललाई खेलमा फर्काउने प्रयास गरे । इन्जुरी समयमा इडर मिलिटाओले गोल गर्दै रियललाई हारबाट जोगाए । ६५ प्रतिशत बल पोसेसन राखेपनि रियललाई खेलमा फर्कन निकै संघर्ष गर्नुपरेको थियो ।

रियलका इडर मिलिटाओ ‘म्यान अफ दिन म्याच’ भए । बराबरीसँगै शीर्षस्थानमा रहेको रियलले २२ खेलबाट ५० अंक बनाएको छ । दोस्रो स्थानमा रहेको सेभियाको ४६ अंक छ । रियललाई रोकेको इल्चे २३ अंक सहित १५औं स्थानमा छ ।

आइतवार रातिनै भएको अन्य खेलमा एथलेटिक बिल्बाओले रायो भालेकानोलाई १–० र ओसासुनाले ग्रानाडालाई २–० गोलले पराजित गरेको छ । रियल सोसिडाड र गेटाफेले गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।

salt training

कमेन्ट गर्नुहोस्