२५ जेठ २०८३, सोमबार

सोलुखुम्बुमा माइनस १३ डिग्री सेल्सियस तापक्रम, खुम्बु छाड्दै स्थानीय

माघ १०, २०७८
सोलुखुम्बुमा माइनस १३ डिग्री सेल्सियस तापक्रम, खुम्बु छाड्दै स्थानीय
फाइल तस्वीरः रासस

हिमाली जिल्ला सोलुखुम्बुको माथिल्लो क्षेत्रमा दोस्रो पटक परेको हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । खुम्बुपासाङ ल्हामु गाउँपालिका–४ खुम्जुङको तापक्रम माइनस १३ डिग्रीसेलसियसमा झरेको छ ।

यहाँका बासिन्दा घरबाट खासै बाहिर निस्कन सकेका छैनन् । घरैमा दाउरा बाल्ने र शरीरलाई न्यानो बनाएर राख्ने काम गरेका छन् भने अन्य सरकारी कार्यालयका कर्मचारीले समेत सोही विधि अवलम्बन गर्ने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत भूमिराज उपाध्ययले बताए । 

पर्यटकीय समय सकिएसँगै यस क्षेत्रका अधिकांश बासिन्दा चिसो छल्नकै लागि राजधानी काठमाडौंलगायत क्षेत्रमा जाने गर्छन् । यस वर्ष पनि धेरैजसो व्यक्ति चिसो छल्न खुम्बु छाडेका छन् भने दैनिक सय हाराहारीमा उडान हुने तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा अहिले दैनिक २/३ उडानमा सीमित बनेको छ ।  

खुम्जुङ क्षेत्रका करिब ७० प्रतिशत मानिस चिसो छल्न काठमाडौँ गएको स्थानीयवासी पेमायाङ्जी शेर्पाले बताए । घरमा ताल्चा लगाएर नै सबै परिवार काठमाडौं गएको उनले जानकारी दिए । 

शान्ति शुरक्षाका लागि खटिएका प्रहरी कर्मचारीले भने दैनिक गस्ती गर्ने गरेका छन् । सगरमाथा राष्ट्रिय निकुञ्जसमेत भएकाले चोरी शिकारीलगायत अन्य घटना हुन नदिन प्रहरी सधै सक्रिय हुनुपर्ने भएकाले सोहीअनुसार ड्युटीमा खटिने गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक कवित कटवालले बताए । 

प्रहरी चौकीमध्ये सबैभन्दा बढी उचाइमा खुम्जुङ प्रहरी चौकी पर्छ । पाइपमा पानी जमेका कारण २० मिनेट टाढा मुहानको पानी प्रयोग गर्नुपर्ने बाध्यता रहेको प्रहरी चौकी खुम्जुङका इन्चार्ज प्रहरी हवलदार जय ढकालले बताए । रासस

salt training

कमेन्ट गर्नुहोस्