२६ जेठ २०८३, मंगलबार

पीसीआर परीक्षणको रिपोर्ट नभएसम्म भरतपुर कारागारले कैदीबन्दी नबुझ्ने

माघ १०, २०७८
पीसीआर परीक्षणको रिपोर्ट नभएसम्म भरतपुर कारागारले कैदीबन्दी नबुझ्ने

कोरोना संक्रमण बढेसँगै कारागार कार्यालय भरतपुरमा उच्च सतर्कता अपनाइएको छ । कारागार प्रशासनले कोरोना सर्न सक्ने देखिएको भन्दै कैदीबन्दीलाई आफन्तसँग भेटघाट बन्द गरेको छ । 

कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार भेटघाटका क्रममा कोरोना फैलन सक्ने भन्दै बन्द गरिएको हो । क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्दा समस्या आउने भन्दै उनले कारागार व्यवस्थापन विभागको परिपत्रअनुसार बन्द गरिएको जानकारी दिए । सार्वजनिकस्थलमा स्थानीय प्रशासनले २५ जना भन्दा बढी जमघट र भेला हुन रोक लगाएको छ । 

कारागार कार्यालयले बाहिरबाट ल्याइएका कैदीबन्दीको कोरोना परीक्षण नगरी नबुझ्ने गरेको उनले जानकारी दिए । 

'पीसीआर परीक्षणको रिपोर्ट नभएसम्म कैदीबन्दी हामी बुझ्दैनौँ,' उनले भने । 

कारागार कार्यालयमा रहेका एक जना कैदीको कोरोना संक्रमणका कारण मृत्यु भएसँगै उच्च सावधानी अपनाइएको उनले बताए । 

कारागार प्रशासनले बाहिरबाट नयाँ आएका कैदीबन्दीलाई र अस्पताल लग्नुपर्ने कैदीबन्दीलाई छुट्टै क्वारेन्टिनको समेत व्यवस्था गरेको छ । ३० जनाको क्षमता रहेको क्वारेन्टिनको व्यवस्था गरिएको उनले बताए । 

अहिले क्वारेन्टिनमा १३  कैदीबन्दी छन् । बाहिरबाट कारागारमा थपिने कैदीबन्दीको संख्या बढ्दै जाँदा यसलाई थप गर्न सकिने काफ्लेको भनाइ छ ।

२५ जना महिला र २५५ पुरुष कैदीबन्दी राख्ने क्षमता रहेको यस कारागारमा अहिले ७१२ जना छन् । 

कारागारमा रहेका मध्ये ५० महिला र ६६२ पुरुष हुन् । उनीहरूसँगै दुई आश्रित बालिका छन् । 

कारागार कार्यालय भरतपुरमा विभिन्न २० मुद्दाका कैदीबन्दी रहेको काफ्लेले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्