
मोरङको विराटनगरसँग जोडिएको भारतीय सीमावर्ती दशगजा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बनाएको सुरक्षा पोस्ट हटाएको छ ।
विराटनगर–१६ दरैयास्थित दशगजामा एसएसबीले आफूखुशी सुरक्षा पोस्ट बनाएको थियो । पोस्टमा २४ घण्टा नै हतियार सहितका भारतीय सुरक्षाकर्मी बस्ने गरेका थिए ।
सशस्त्र प्रहरी बल नेपालको आग्रहपछि १५ दिनअघि निर्माण गरिएको पोस्ट दशगजाबाट एसएसबीले भारतीय भूमितर्फ लगिसकेको मोरङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) काशीराज दाहालले बताए । २ देशीय सीमानामा कुनै पनि संरचना बनाउन र गतिविधि गर्न नपाइने अन्तर्राष्ट्रिय कानून भए पनि त्यसलाई लत्याउँदै एसएसबीले सुरक्षा पोस्ट बनाएको थियो । दशगजाको दुवैतर्फ ९.१ मिटर खाली राख्नुपर्ने प्रावधान छ । नेपाली पक्षको आग्रहपछि एसएसबीले पोस्ट १० मिटरजति पर सारेको सशास्त्र प्रहरी बल ३ नम्बर गण टंकी विराटनगरका एसपी राजकुमार लामिछानेले बताए ।
मोरङको ६३.२ किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएको छ । १ नम्बर प्रदेशमा सुनसरीदेखि झापासम्म भारतको बिहार राज्य अन्तर्गत सुपौल, अररिया र किसनगञ्ज जिल्लाले छुने गर्छ ।
कूटनीतिक मर्यादा र सीमा सम्बन्धी अन्तर्राष्ट्रिय कानूनविपरीत दशगजामा पोस्ट निर्माण गरेर २४ घण्टा नै हतियार सहितका एसएसबीलाई खटाउन थालिएपछि भारतको चौतर्फी विरोध भएको थियो । जिल्ला सुरक्षा समिति मोरङको बैठकमा पनि एसएसबी पोस्टबारे कुरा उठेको थियो ।