
अर्मेनियाको राजधानी शहर याउन्देको एक रात्रि क्लबमा आगलागी हुँदा कम्तीमा १६ जनाको ज्यान गएको छ ।
अर्मेनियाका सूचना मन्त्रीले आइतवार भएको सो आगलागीमा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको जानकारी दिएका छन् ।
आइतवार राति सो दुर्घटना भएको बताइएको छ । रात्रि क्लबमा खचाखच मानिसहरू रहेका बेला सो क्लबमा आगो लागेको बताइएको छ ।
'सो आगलागीबाट १६ जनाको ज्यान गएको र अरू आठ जना घाइते भएका छन् । घाइतेहरूको शरीर जलेको र उनीहरूको अवस्था पनि गम्भीर रहेको छ,' मन्त्री रेने इमानुयल सादीले भने ।
मन्त्री सादीका अनुसार अकस्मात आगो लागेपछि निभाउने प्रयास गर्दा गर्दै धेरै मानिसलाई आगोले छोएको थियो ।
घटनाबारे थाहा पाउने बित्तिकै प्रहरी र दमकलको टोली पुगेर आगो नियन्त्रणमा लिएका थिए ।
आगलागीको बेलामा क्लबमा एक सयजना जति नागरिक रहेका थिए । रात्रि क्लबमा रहेका मध्ये प्राय युवायुवती रहेका थिए ।
आगो लागेपछि बाहिर निस्किने प्रयासमा रहेका उनीहरूलाई आगोको मुस्लोले छोएको थियो । बाहिर निस्कने द्वार एउटा मात्र रहेकोले पनि धेरै मानिसको ज्यान गएको बताइन्छ । -रासस/सिन्ह्वा