
राष्ट्रिय सभातर्फ २० फागुनबाट रिक्त हुने १९ पदमा भोलि बुधबार निर्वाचन हुँदै छ । ती पदमा ४३ जना उम्मेदवारको उम्मेदवारी परेको छ ।
राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका पाँच दल गठबन्धन नै बनाएर उत्रिएका छन् । उनीहरूले निर्वाचनका लागि पद बाँडफाँड गरिसकेका छन् । यस्तै प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेकपा एमालेले भने सातै प्रदेशमा आफ्ना उम्मेदवार अघि सारेको छ ।
२० फागुनबाट राष्ट्रिय सभामा रिक्त हुने १९ पदमध्ये ८ पद एमालेका तर्फबाट रिक्त हुँदै छ । यस्तै, एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका चार र कांग्रेसका तीन सदस्यको पदावधि पनि सोही मितिमा सकिँदै छ । तर, गठबन्धनसहित अघि बढेका सत्तारूढ दललाई राष्ट्रिय सभा निर्वाचनमा थप नाफा हुने देखिँदा एमालेलाई भने चुनौती थपिएको छ ।
निर्वाचन आयोगले ७ महिला, ३ दलित, २ अपांगता भएका तथा अल्पसंख्यक र ७ अन्य विभिन्न समूह गरी १९ सिटका लागि निर्वाचन गराउन लागेको हो । राजधानी दैनिकमा महेश्वर गौतमले खबर लेखेका छन् ।