
महानगरीय ट्राफिक प्रहरी महाशाखाले फरक क्षमता भएका व्यक्तिलाई सार्वजनिक सवारी साधनमा सहज पहुँच र सुविधाका लागि चढ्न र ओराल्नका लागि पुरानो बसपार्कमा ठाउँको व्यवस्था गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) उमेशराज जोशीको निर्देशनअनुसार सोमबारदेखि सो व्यवस्था सुरु गरिएको हो ।
महाशाखाले पुरानो बसपार्कमा ‘फरक क्षमता भएका व्यक्तिलाई मात्र चढाउने र ओराल्ने ठाउँ’ लेखिएको बोर्ड पनि राखेको छ । ‘फरक क्षमता भएकाको जीवन सहज बनाउन अझै यस्ता सवारी र अपांगमैत्री व्यवस्था थप्दै जानेछौं,’ एसएसपी जोशीले भने ।
ट्राफिक महाशाखाले सार्वजनिक सवारी साधनका चालक सहचालक तथा यात्रुवर्गलाई तोकिएको स्थानबाट मात्रै पिक एन्ड ड्रप गर्न पनि अनुरोध गरेको छ । राजधानी दैनिकमा खबर छ ।