
कटहरी गाउँपालिका ३ का २८ वर्षीय झप्पु भन्ने अशोक ऋषिदेवको हत्याको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
सोही स्थानका ३८ वर्षीय शेखर राजबंशीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
झप्पु र शेखर साथी हुन्। अशोकको शनिबार राती हत्या गरी चक्रपथ सडकको नालामा फालेको आरोपमा राजबंशीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी मोरङका प्रवक्ता डिएसपी मन्जिल मुकारुङले बताए ।
राजबंशीलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङबाट ५ दिनको म्याद थप गरी अनुसन्धान शुरू गरेको उनले जानकारी दिए ।
ऋषिदेवको शव साइकलसहित नालामा डुबेको अवस्थामा प्रहरीले आइतबार बरामद गरेको थियो ।
शव बरामद भएपछि टाउँकोमा गम्भीर चोट देखिएकाले प्रहरीले अनुसन्धान गर्ने क्रममा राजबंशीले हत्या गरेर नालामा फालेको तथ्या पत्ता लगाएको मुकारुङले बताए ।
शनिवार राती संगै मदिरा सेवन गरेर होटेलबाट निस्कने क्रममा विवाद हुँदा शेखरले उनको हत्या गरेको प्रहरीको भनाइ छ । हत्या गरी शवसँगै नालिमा साइकल फालेर घर नजिकैको बाँस घारीमा गएर उनी सुतेको मोरङ प्रहरीले जनाएको छ ।
टाउकोको पछाडी भागमा गम्भीर चोट लागेर घटनास्थलमा नै ऋषिदेवको मृत्यु भएपछि घटना लुकाउन राजबंशीले शव नालामा फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी मुकारुङले बताए ।
थप अनुसन्धान बढाइएको प्रहरीले जनाएको छ । हत्यामा अन्य एक जनाको सल्गन देखिए पनि उनी भने फरार रहेको प्रहरीले जनाएको छ ।