
बझाङको चिरवित्थड गाउँपालिका-८ का सचिव दत्तराम अवस्थीमाथि भएको घटनाप्रति नेपाल निजामति कर्मचारी युनियनले ध्यानाकर्षण भएको जनाएको छ ।
युनियनका उपमहासचिव दुर्गाप्रसाद फुयालले आज एक विज्ञप्ति जारी गर्दै सो घटनामा नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कार्यसमितिको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
अवैधानिक रुपमा माग गरिएको चन्दा नदिएको र स्थानीय व्यक्तिगत रिसइबीका कारण वडा सचिव अवस्थीलगायतलाई कार्यालयको कामकाजकै सिलसिलामा रहेको समयमा केही अवाञ्छित व्यक्तिहरूले सामूहिक सांघातिक आक्रमण गर्दै अमानवीय र अभद्र व्यवहार गरेको विज्ञप्तिमा जनाइएको छ ।
उपमहासचिव फुयालले राष्ट्रसेवक कर्मचारीलाई आस्था र अन्य वैयक्तिक कारण सामाजिक रुपमा गलत व्यवहार गर्नु गैह्रकानूनी कार्य भएको जनाउँदै यस्ता कार्य गराउनेलाई कारवाही गर्न सरकारसँग माग पनि गरेका छन् ।
साथै उनले राष्ट्रसेवकलाई निष्पक्ष, तटस्थ, भयमुक्त र स्वतन्त्र रुपमा कामकाज गर्ने वातावरण कायम गर्दै आम राष्ट्रसेवकको जीउधनको सुरक्षा गर्न पनि युनियनको तर्फबाट माग गरेका छन् ।
