
चितवनमा निर्माणाधीन सडकको नालामा खसेर गैँडाको मृत्यु भएपछि घटनाबारे छानबिनका लागि वन तथा वातावरण मन्त्रालयले कार्यदल गठन गरेको छ ।
मन्त्रालयले वन तथा भू–संरक्षण विभागका उपमहानिर्देशक डा. राजेन्द्र केसीको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको हो ।
कार्यदलमा वन मन्त्रालयका उपसचिव (कानून) रामजी दनाई, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका योजना अधिकृत दिलबहादुर पूर्जापुन, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य र डिभिजन वन कार्यालय चितवनका डिभिजनल वन अधिकृत पदमराज नेपाल छन् ।
कार्यदलले १० दिनभित्र घटनाको छानबिन गरी प्रतिवेदन पेश गर्नेछ ।
माघ ९ गते दिउँसो वरण्डाभार वन खण्डमा सडक विस्तारको क्रममा खनिएको खाडलमा पर्दा गैँडाको मृत्यु भएको थियो ।