काठमाडौं, १६ असार– दोस्रो चरणको स्थानीय तह निर्वाचन सफलतापूर्वक सम्पन्न गराएको खुसी बाँड्न नपाउँदै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाका लागि नराम्रो खबर हुन सक्छ कि उनी आफ्नै गृहजिल्ला डडेल्धुरामा कमजोर भएका छन् ।
२०४६ सालपछि भएका सबै संसदीय चुनावमा डडेल्धुरामा देउवाले पराजय भोगेका छैनन् । यहाँसम्म कि डडेल्धुरामा उनीसँग प्रतिस्पर्धा गर्ने उम्मेदवार नै छैनन् पनि भन्ने गरिन्छ । तर अब भने गृहजिल्ला डडेल्धुरामा देउवाको प्रभाव कमजोर हुँदै गइरहेको विश्लेषण भइरहेको छ । दोस्रो चरणको स्थानीय तह निर्वाचनको मत परिणाम सार्वजनिक भइरहँदा नेपाली कांग्रेसलाई डडेल्धुरामा पहिलो दल बन्न त्यति सजिलो छैन ।
नेपाली कांग्रेसले आफ्नो गढ भनेर दावी गर्ने डडेल्धुरा सदरमुकाम रहेको अमरगढी नगरपालिकाको नेतृत्व गुमाइसकेको छ । अमरगढीको मेयरमा एमालेका विशेश्वर प्रसाद ओझा र उपमेयरमा एमालेकै संगिता भण्डारी विजयी भएकी छन् ।
जिल्लाको अर्को नगरपालिका परशुरामको नेतृत्व पनि कांग्रेसको पक्षमा नहुने लभभग निश्चित भइसकेको छ । आधाजति मतगणना भइसक्दा परशुरामको मेयरमा माओवादी केन्द्रका शेरसिंह मालले अग्रता लिइरहेका छन् भने उनलाई नेकपा एमालेका तारिसिंह बोहराले पछ्याइरहेका छन् । कांग्रेसका भीमबहादुर साउँद भने तेस्रो स्थानमा रहेर संघर्ष गरिरहेका छन् ।
गाउँपालिकामध्ये अहिले आलीताल र देउवाको आफ्नै घर रहेको गन्यापधुरमा मात्रै कांग्रेसको अग्रता छ । अजयमेरु गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार उमेशराज भट्ट विजयी भइसकेका छन् । भागेश्वर र नवदूर्गा गाउँपालिकामा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा छ । यी दुई गाउँपालिकामा कहिल्यै कांग्रेस त कहिल्यै एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन् ।
देउवाकै कारण कांग्रेस कमजोर स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी तोक्ने बेला डडेल्धुरा कांग्रेसमा विवाद बढ्यो । त्यसको कारण थियो पार्टीका केन्द्रीय सभापति देउवाले उम्मेदवार चयनमा प्रत्यक्ष हस्तक्षेप गर्नु । कांग्रेसका असन्तुष्ट कार्यकर्ताहरुले त सभापति देउवाले आफ्ना नातेदार र आफन्तलाई मात्रै उम्मेदवार बनाएको भन्ने आरोप पनि लगाएका छन् ।
डडेल्धुरामा धेरै ठाउँमा पार्टीबाट असन्तुष्ट रहेका कांग्रेसका कार्यकर्ताले स्वतन्त्र (बागी) उम्मेद्वारी पनि दिए । कतिपय ठाउँमा त कांग्रेसका आधिकारिक भन्दा पनि बागी उम्मेदवारले बढी मत पाएको पनि देखियो । अजयमेयरु गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार कमलसिंह बिष्टभन्दा कांग्रेसबाट बागी उम्मेदवार उठेका कमलसिंह भाटले बढी मत प्राप्त गर्नु यसको एक उदाहरण हो ।
जिल्ला नेताको कमजोरीगत फागुन १८ गते सम्पन्न स्वतन्त्र विद्यार्थी यूनियनको चुनावमा डडेल्धुराका सबै क्याम्पसमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ विजयी भएको थियो । जीत पछि आयोजित विजयी शभालाई सम्बोधन गर्दै डडेल्धुरा कांग्रेसका सभापति कर्णबहादुर मल्लले ‘अब एमालेको सूर्यमा ग्रहण र माओवादीको हँसिया हतौडामा खिया लाग्यो’ भनेर भाषण गरेका थिए । तर उनको त्यो भाषण भाषणमा मात्रै सीमित रह्यो ।
स्थानीय तह चुनावमा कांग्रेसले कमजोर प्रदर्शन गर्नुमा मूख्य जिम्मेवार जिल्ला तहकै नेता छन् । खासगरी जिल्ला सभापति कर्ण मल्ल र पूर्व जिल्ला सभापति रघुवीर भट्टले गुटमा रमाउनुले नै डडेल्धुरामा कांग्रेस कमजोर भएको जिल्ला तहका नेताहरु बताउँछन् ।
अब आउने चुनावी परिणाम जस्तोसुकै भएपनि कांग्रेसका गढका रुपमा चिनिने डडेल्धुराको राजनीतिक बृत्तमा गरिने परिभाषा फेरिने निश्चित भइसकेको छ । र प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले आफ्नै जिल्लामा समेत पार्टीलाई बहुमत ठाउँमा जिताउन नसकेको भन्दै उनकै पार्टीभित्र आलोचना हुने छ ।
दोस्रो चरणको निर्वाचन गराउन देउवा पक्कै पनि सफल भएका छन् । तर गृहजिल्लामा प्रभाव गुम्दै जानु उनी आन्तरिक रुपमा कमजोर बन्दै गएको संकेत पनि हो । यसले उनका आलोचक र विरोधीलाई अझ बढी बल पुगेको छ ।