
माघ पर्वपछि थारु बाहुल्य क्षेत्रमा नेतृत्व छनोट धमाधम भइरहेको छ । थारु जातिमा उहिल्यैदेखि चल्दैआएको बरघर/भलमन्सा प्रणाली अन्तर्गत नेतृत्व चयन भइरहेको हो ।
पछिल्लो समय यसप्रतिको आकर्षण बढ्दो छ । विभिन्न पेशा तथा थारु बाहेकका समुदायबाट पनि नेतृत्वमा आउने गरेका छन् ।
यसैमध्येका एक हुन् सशस्त्र प्रहरीका हजारौं फौजीलाई ‘कमान्ड’ गरेका पूर्व प्रहरी नायव उपरीक्षक (डीएसपी) ५३ वर्षीय सन्तराम चौधरी । उनले गाउँको नेतृत्व लिएको दोस्रो कार्यकाल शुरू भएको छ ।
२३७ घरधुरी तथा १ हजार बढी जनसंंख्या भएको कैलाली जिल्लाको कैलारी गाउँपालिका–३ उत्तर भर्रीका गाउँ समाजले उनलाई पुनः १ वर्षका लागि भलमन्साको जिम्मेवारी दिएका छन् ।
को हुन् चौधरी ?
जीवनकालको ३० वर्ष सशस्त्र प्रहरीमा कार्यरत रहेका उनले २०७५ असोज १ गते सेवाबाट अवकाश लिए । प्रहरी संगठनभित्र लामो समयसम्म प्रहरीको प्रशिक्षक भई काम गरेको अनुभव छ उनीसँग ।
सशस्त्र प्रहरी जवानदेखि सेवा गरेका उनले ११ वर्षसम्म सशस्त्र प्रहरी निरीक्षक र ३ महिना सशस्त्र प्रहरी नायव उपरीक्षकको जिम्मेवारी निर्वाह गरे । उनले मुस्तांङ जिल्लामा जिल्लास्तरको सशस्त्र प्रहरी बेस क्याम्पसको नेतृत्व गरे भने सुदूरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्रमा १२ वर्षसम्म प्रशिक्षकको रूपमा कार्यरत रहे ।
उनले भने, ‘फौजी र बरघरको कार्यक्षेत्र फरक भए पनि फौजी पनि समाजकै अंग हो । एउटा कमान्डरको परम जिम्मेवारी फौजलाई होस् या समाजलाई सबल बनाउनु हो, सुरक्षा गर्नु हो ।’
यति मात्रै होइन, उनले सशस्त्र प्रहरी तालिम केन्द्र भालुवाङमा २ वर्ष, सशस्त्र प्रहरी तालिम केन्द्र बाँकेमा प्रशिक्षक र सुबेदार मेजर भएर काम गरेका थिए ।
कैलाली जिल्लास्थित प्रहरीका विभिन्न ईकाइमा एन्टी एम्बुस तथा बम डिस्पोजल सम्बन्धी तालिमको प्रशिक्षक समेत रहेको कार्य अनुभव सुनाउँछन् उनी ।
उनले भने, ‘हेर्नुस् फौजको नेतृत्व गर्नु र गाउँको नेतृत्व गर्नु आकाश–पातालको फरक कुरा हो । फौजभित्रको अनुशासन र बरघरको कार्यक्षेत्र भित्रको अनुशासन फरक–फरक किसिमको हुन्छ । बरघर प्रणाली थारु जातिको एकदमै लोकतान्त्रिक पद्धति हो । प्रथाजन्य कानून नै हो । अग्रजहरूको रायका साथ गाउँको विकास र शान्तिका लागि योजनावद्ध रूपमा काम गर्ने सोच बनाएको छु ।’
बरघरभित्र केही कानूनी जटिलता र केही खराब पक्ष पनि रहेको औंल्याउँदै उनले गाउँ–समाजलाई देवानी र फौजदारी कानूनबारे पनि क्रमिक रूपमा सिकाउँदै जाने बताए ।
गैरथारु पनि बरघर !
सामान्यतया बरघर थारु समुदायबाटै चुनिँदै आए पनि पछिल्लो समयमा थारु बाहेकका अन्य समुदायबाट पनि नेतृत्वमा आउने गरेका छन् । कैलारी गाउँपालिका–४ मोहन्याल बस्तीका भलमन्सा ६२ वर्षीय नन्दसिंह तिरुवा लगातार ९ वर्षदेखि नेतृत्वमा छन् ।
उनी भन्छन्, ‘प्रत्येक वर्षको माघ महिनामा नयाँ छान्ने वा पुरानैलाई अनुमोदन गर्ने कार्य हुन्छ । समाजले मलाई ९ वर्षदेखि नेतृत्व दिएको छ । समाजको सहमति अनुसार नै हामीले विकास निर्माणदेखि न्याय निरूपणको गतिविधि गर्नुपर्ने हुन्छ । यो प्रणाली निकै नै लोकतान्त्रिक छ । समाज विकासमा यसको ठूलो योगदान छ ।’
गाउँ समाजको नेतृत्वमा अब महिला पनि आउने गरेका छन् । उनीहरू पनि पुरुषसरह समाजको नेतृत्व गर्दै आएका छन् ।
कैलारी गाउँपालिका–४ चौफेरी बस्तीकी कुमारी वड विगत ३ वर्षदेखि बस्तीको नेतृत्व गर्दै आएकी छन् । थारु समुदायमा बरघरले गाउँघरमा हुने विकास निर्माणका कार्यमा सहजीकरण तथा समाजका सदस्यलाई परिचालन गर्ने भूमिका निर्वाह गर्छन् भने समाजमा हुने स–साना झै–झगडा तथा वादविवाद मिलाउने तथा सहजीकरण गर्ने प्रचलन रहिआएको छ ।
कुमारी वडले पनि ३ वर्षको अवधिमा बरघरको जिम्मेवारी निर्वाह गर्दै आएको बताइन् । उनले भनिन्, ‘हाम्रो बस्तीमा सबै जातिको बसोबास छ । विवाह, व्रतबन्ध, विकास निर्माण लगायत सबै काम मिलेर गर्छौं । जसको नेतृत्व भलमन्साबाट हुन्छ । समाजले नेतृत्व गर्ने जिम्मेवारी प्रदान गरेको छ, खुशी लाग्छ ।’
कतिपय बस्तीमा पालैपालो समाजको नेतृत्व चयन गरिँदै आएको छ । नेतृत्वमा आउने व्यक्ति नभएको बस्तीमा समाजले पालैपालो त कतै चिठ्ठामार्फत पनि नेतृत्व चयन गर्दै आएको छ ।
कैलारी गाउँपालिका–४ बन्जरिया बस्तीकी ३५ वर्षीय सीमा चौधरीले केही दिनअघि मात्रै बस्तीको भुरा खेल (विशेष भेला) बाट आफूलाई नेतृत्वको पालो आएको बताइन् ।
उनले भनिन्, ‘हाम्रो बस्तीका अधिकांश लोग्ने मानिस काम गर्न बाहिर जान्छन् । यहाँ महिला र बालबालिका बढी हुन्छन् । जुनकारण यो वर्ष मेरो पालो आयो । गाउँ समाजको सल्लाह अनुसार काम गर्ने सोचमा छु ।’
माघलाई नयाँ वर्ष तथा आर्थिक वर्षको रूपमा मनाइने प्रचलन रहिआएको थारु समुदायमा विगतको समीक्षा र आउँदो वर्षको लागि योजना बनाउने गरिन्छ । यसैबीच गाउँको नयाँ नेतृत्व चयन तथा अनुमोदनको कार्य हुँदै आएको छ ।
कतिपय बस्तीमा एकभन्दा बढी व्यक्ति नेतृत्वको लागि आउँदा चुनावी प्रक्रियामा गएर छनोट गरिँदै आएको छ । कैलालीको कैलारी गाउँपालिका–९ सामरचौराका भलमन्सा मानबहादुर चौधरीले आफू निर्वाचित भलमन्सा रहेको बताए ।
कानूनी मान्यता पाउँदै बरघर प्रणाली
थारु बस्तीमा माघ महिनाभरि नेतृत्व चयन गर्ने प्रचलन रहिआएको छ । भलमन्सासँगै भलमन्साको सहयोगीको रूपमा काम गर्ने चौकीदार (खबर बाहक), गुरुवा (पुरोहित), केसौका (सहायक पुरोहित) लगायत पदाधिकारी छनोट गरिन्छ ।
पछिल्लो समय स्थानीय तहहरूले बरघर प्रणालीलाई संस्थागत गर्नमा अग्रसरता देखाउँदै आएका छन् । स्थानीय पालिकाहरूले बरघर ऐन नै निर्माण गरेर कानूनी मान्यता दिनमा जुटेको बताउँछन् बरघर प्रणालीका अभियानकर्ता एकराज चौधरी ।
उनले भने, ‘बरघर प्रणाली प्रथाजनित कानून हो । आफ्नो नेतृत्व आफैं छनोट गरिने, विगतका कार्यहरूको समीक्षा गरिने र आउँदो वर्षको योजना बनाइन्छ । जुन एकदमै लोकतान्त्रिक विधिबाट हुन्छ । यसलाई अन्तर्राष्ट्रिय श्रम महासन्धी १६९ ले मान्यता दिएको छ । नेपाल सरकार पक्ष राष्ट्र पनि हो । नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन अनुसार पनि थारु बाहुल क्षेत्रका स्थानीय तहलाई बरघर प्रणालीलाई संरक्षण र विकास गर्न ऐन निर्माणमा जुटेका छन् ।’
उनका अनुसार हालसम्म बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका, बाँसगढी नगरपालिका, मधुवन नगरपालिका, ठाकुरबाबा नगरपालिका, कैलालीको जोशीपुर गाउँपालिका, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका, लालझाँडी गाउँपालिकाले ऐन ल्याइसकेका छन् । कैलालीको कैलारी गाउँपालिका ऐन ल्याउने तयारीमा जुटेको जनाइएको छ ।