काठमाडौं, १७ असार— असार १४ गते सम्पन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना रोचक बनिरहेको छ । मतगणनाको दोस्रो दिन आइपुग्दा एमाले अग्रस्थानमा रहँदा नेपाली कांग्रेसले लगातार पछ्याइरहेको छ । यस्तै नेकपा माओवादी केन्द्र भने एमाले— कांग्रेस भन्दा निकै पछि रहँदै तेस्रो स्थानमा रहेको छ ।

शनिबार साढे ८ बजेसम्म प्राप्त मतपरिणामअनुसार एमाले ३१ स्थानमा विजयी बन्दै शीर्ष स्थानमा रहेको हो । यस्तै कांग्रेसले २७स्थानमा जीत हासिल गरेको छ भने माओवादी केन्द्रले १४ स्थानमा जित हासिल गरेको छ ।
यस्तै मधेसमा पकड रहेको उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम पार्टीले पनि एक स्थानीय तह जितेको छ । फोरमले बाँकेको नरैनापुर गाउँपालिका जितेको हो । यस्तै चित्रबहादुर केसीको जनमोर्चाले पनि प्युठानको एक गाउँपालिका जितेको छ ।
निर्वाचन आयोगका अनुसार बुधबार सम्पन्न निर्वाचनको अधिकांश स्थानीय तहको मतगणना सुरु भइसकेको छ ।
अग्रताका हिसावले जारी मतगणनाअनुसार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी र लोकतान्त्रिक फोरमले विभिन्न स्थानमा अग्रता लिइरहेका छन् । निर्वाचनमा ७३ दशमलव ६९ प्रतिशत मत खसेको थियो ।
तीन प्रदेशका एक महानगर, सात उपमहानगर, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकामा जनप्रतिनिधि चयनका लागि दोस्रो चरणअन्तर्गतको स्थानीय तह निर्वाचन भएको हो ।
निर्वाचनका लागि ६२ हजार ४ सय ८ उम्मेदवारले निर्वाचन प्रक्रियामा सहभागी हुन उम्मेदवारी दिएका थिए ।