बझाङ, १७ असार– दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत ७ नम्बर प्रदेशको हिमाली जिल्ला बझाङका ७ वटा स्थानीय तहमा मत गणना सकिएको छ ।
जसअनुसार नेकपा एमालेले ५ र कांग्रेसले २ स्थानीय तहको प्रमुख जीत हासिल गरेका छन् । माओवादीले भने बझाङमा खाता खोल्न सकेको छैन ।
जीतको पहिलो खाता बझाङबाट खोलेको नेकपा एमालेले दुर्गाथली, थलारा, मष्टा, वित्थडचिर र तलकोट गाउँपालिकामा जीत हासिल गरेको छ ।
दुर्गाथली गाउँपालिकाको अध्यक्षमा एमालेका प्रयागराज जोशीले १५९० र उपाध्यक्षमा पार्वती देवी जप्रेल १५३० मत ल्याएर विजयी भएका छन् ।
मष्टा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कर्णबहादुर कठायत २१६२ र उपाध्यक्षमा भगवती बोहरा २१८२ मत सहित बिजयी भएकी छन् ।
वित्थड चिर गाउँपालिकाको अध्यक्षमा एमालेका प्रेम बोहरा २७११ र उपाध्यक्षमा एमालकै जानकी बोहरा २८२६ मत सहित विजी भए ।
थलारा गाउँपालिकाको अध्यक्षमा एमालेका भुवनेश्वर उपाध्याय र उपाध्यक्षमा गंगुदेवी खडायत विजयी भएका छन् ।
यस्तै कांग्रेसले पनि पहिलो जीतको खाता बझाङबाटै खोलेको थियो । कांग्रेसले बुंगल नगरपालिका र काँडा गाउँपालिकामा जीत हासिल गरेको छ ।
काडाँ गाँउपालिकामा अध्यक्षमा काँग्रेसका राजेन्द्र धामी र उपाध्यक्षमा कल्पना बोहरा बिजयी भएका छन् ।
बुङगल नगरपालिकामा अध्यक्ष र उपाध्यक्षमा काँग्रेसका धनबहादुर विष्ट र मीना जाग्री बिजयी भएका छन् ।
अहिले बझाङ सदरमुकाम रहेको जयपृथ्वी नगरपालिका, छविस पाथेभेरी, केदारस्यु खप्तड छान्ना र सुर्मा गाउँपालिकाको मतगणना चलिरहेको छ ।