३१ जेठ २०८३, आइतबार

बागमती किनार अतिक्रमणको चपेटामा

माघ २०, २०७८
बागमती किनार अतिक्रमणको चपेटामा

बागमती नदी किनारका सुकुम्बासी बस्ती तथा अस्थायी संरचना खाली गर्न सूचना गरिए पनि बस्ती भने हटेका छैनन् ।

अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले माघ १७ गतेसम्म गुह्येश्वरीदेखि थापाथली पुलसम्मको नदी किनारका अस्थायी संरचना खाली गर्न सूचना त गर्‍यो तर खाली भने भएनन् ।

समितिले विगत १२ वर्षदेखि अस्थायी संरचना र बस्ती हटाउन यस्तै सूचना जारी गर्दै आएको छ । नदी किनारको जग्गा खाली गर्न बस्तीमा डोजर लगाएर भत्काउने काम पनि भएको थियो तर बस्ती भने थप विस्तार हुँदै आयो ।

डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा २०६९ वैशाखमा थापाथलीको सुकुम्बासी बस्तीमा डोजर लगाइएको थियो तर १ महिनामै बस्ती थप विस्तार भयो ।

पटक–पटक सूचना जारी गरी हटाउने पहल गर्दा पनि असफल भएपछि समितिले २ चरणमा खाली गर्ने योजना बनाएर काम अघि बढाएको छ । यसअघि पहिलो चरणमा गुह्येश्वरीदेखि गोकर्णसम्म क्षेत्रको नदी किनारका अस्थायी संरचना भत्काइएको थियो ।

समितिका सूचना अधिकारी कमल अर्यालले भने, ‘गोकर्णदेखि गुह्येश्वरीसम्मको नदी किनार र कोरिडोरको बीचमा रहेका २६ वटा अनधिकृत अस्थायी संरचना भत्काइएको छ, अब दोस्रो चरणमा तिलगंगादेखि थापाथलीसम्मका संरचना हटाउन सूचना जारी भएको छ ।’

माघ २१ गतेसम्म स्थायी प्रकृतिका संरचना हटाउन सूचना जारी भएको छ । तोकिएको समयमा नहटाइए समिति आफैंले हटाउने अर्यालको भनाइ छ । उनका अनुसार तिलगंगादेखि थापाथलीसम्म ३१ वटा अनधिकृत स्थायी तथा अस्थायी संरचना रहेको र ती हटाउनका लागि चिह्न लगाइएको छ ।

समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सेनाले भने, ‘नदी किनारका अव्यवस्थित बसोबास थप समस्याका रूपमा वृद्धि भएको छ । विकास निर्माणका काम रोकिएका छन्, पहिलो चरणमा अनधिकृत टहरा भत्काउने छौं, दोेस्रो चरणमा बस्ती खाली गरिने छ ।’

बस्तीले नदीको दायाँ बायाँ किनारमा ढल तथा बाटो निर्माणमा अवरोध भएको उनको भनाइ छ । नदी किनारमा बाढी रोक्न पर्खाल लगाउने काम बस्तीका कारण हुन सकेको छैन ।

तर सुकुम्बासी बस्ती भने तत्काल नहटाइने भएको छ । काठमाडौं महानगरपालिका–३१ का अध्यक्ष नारायण भण्डारीले भने, ‘कोरिडोरभित्र परेका अस्थायी संरचना मन्दिर, पार्क, भजन घर भत्काउने तर बस्ती नभत्काउने आशयको पत्र आएको छ, नदी किनारका बस्ती हटाउने सवालमा संघीय सरकारले नै व्यवस्थित गर्नुपर्छ । महानगरले मात्र सक्दैन ।’

शहरी विकास मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद शर्माले भने, ‘बागमती नदी किनारका संरचना खाली गराउँदै आएका छौं । अहिले पनि खाली गराउन सूचना भएको छ । सुकुम्बासीको व्यवस्थापन हुन्छ । बसिरहेकालाई विकल्प दिएर सूचना निकालिन्छ, खाली नगरे भत्काइन्छ ।’

राजनीतिक स्वार्थका कारणले पनि बस्ती खाली गर्न नसकिएको समितिले जनाएको छ । वडा नम्बर ३१ शंखमूल, वडा नम्बर ९ स्थित सिनामंगलदेखि तिलगंगा, वडा नम्बर १० बुद्धनगर, पुरानो बानेश्वर क्षेत्रमा बढी संख्यामा बस्ती छ । वडा नम्बर ३१ मा ४७९ वटा टहरा निर्माण भएको भण्डारीले जानकारी दिए ।

वडा नम्बर ११ का अध्यक्ष हीरालाल तण्डुकारले पनि स्थानीय सरकारले समाधान गर्न नसक्ने बताए । उनको भनाइ छ, ‘सार्वजनिक जग्गामा भएको बस्तीले हाम्रो वडामा पनि प्रभाव त पारेको छ तर यो समस्या हामीबाट मात्र समाधान गर्न सकिँदैन ।’

शहरी सुकुम्बासी व्यवस्थापनका लागि भनेर इचङ्गुनारायणमा झण्डै २०० परिवार बस्ने गरी भवन निर्माण भएको ५ वर्ष भयो । भवनमा सुकुम्बासीको व्यवस्थापन गर्ने काम हालसम्म भएको छैन । भवन प्रयोगविहीन छ । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्