०७ असार २०८३, आइतबार

गृहमन्त्री खाँणले ७ विषयमा १४ सीडीओसँग लिए जानकारी

गृहमन्त्री खाँणले ७ विषयमा १४ सीडीओसँग लिए जानकारी

गृहमन्त्री बालकृष्ण खाँणले ७ विषयवस्तुमा १४ प्रमुख जिल्ला अधिकारी (सीडीओ) सँग जानकारी लिएका छन् ।

गृहमन्त्री खाँणले १३ सीडीओ र १ सहायक सीडीओसँग टेलिफोन वार्ता गरी जानकारी लिएका हुन् ।

गृहमन्त्री खाँणले प्रमुख जिल्ला अधिकारीहरू इन्द्रदेव यादव (सुनसरी), काशीराज दाहाल (मोरङ), छविलाल रिजाल (झापा), कृष्णबहादुर कट्वाल (बारा), धर्मेन्द्र मिश्र (नवलपरासी पश्चिम), ऋषिराम तिवारी (रुपन्देही) सँग टेलिफोन वार्ता गरे ।

त्यसैगरी चक्रपाणी पाण्डे (कपिलवस्तु), किरण थापा (कैलाली), सूर्यबहादुर खत्री (बाँके), सन्तबहादुर सुनार (बर्दिया), हिरालाल रेग्मी (दाङ), उमेशकुमार ढकाल (पर्सा) र रामप्रसाद पाण्डे (कञ्चनपुर) सँग पनि खाँणले टेलिफोन वार्ता गरे ।

त्यसैगरी नवलपरासी पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालसँग पनि कुराकानी गरे ।

बिहानको चिया समयमा गृहमन्त्री खाँणले सीडीओहरूसँग जिल्लामा कोभिड–१९ संक्रमण, जिल्लाको शान्ति सुरक्षा, जिल्ला प्रशासन कार्यालयमा कोभिड–१९ संक्रमण, जिल्लाबाट जनताले पाएका सेवा सुविधा, कर्मचारीको संख्या पुग–अपुग के छ ? पठाउनु पर्छ कि पर्दैन ? जिल्ला सुरक्षा समितिको बैठक नियमित बसेको छ कि छैन भनेर जानकारी लिएका हुन् ।

नवलपरासी पूर्वका सहायक सीडीओ बरालले गृहमन्त्री खाँणले टेलिफोन गर्दा काम गर्दा सतर्कता अपनाउन र राम्रो काम गर्न ‘मोटिभेसन’ हुने बताए । ‘गृहमन्त्रीज्यूले जिल्लाको वस्तुस्थितिबारे जानकारी लिनुभयो,’ सहायक सीडीओ बरालले भने, ‘मन्त्रीज्यूले टेलिफोन गरेर यसरी जानकारी लिँदा काम गर्दा सर्तकता अपनाउन र राम्रो काम गर्न मोटिभेसन हुन्छ ।’

कञ्चनपुरका सीडीओ पाण्डेले गृहमन्त्रीको टेलिफोनले आफूलाई मातहतका निकायसँगको सम्बन्ध र तथ्यांकबारे जतिबेला पनि जानकारी राख्न सर्तक रहन सिकाएको बताए । ‘सामान्यतया आन्तरिक विषयवस्तुमा महत्त्वपूर्ण घटना नभई अन्य गृहमन्त्रीज्यूहरूले टेलिफोन गरेको जानकारी थिएन । अहिले मन्त्रीज्यूले टेलिफोन गर्दा काम गर्न जोस, जाँगर र सर्तक रहन सिकाएको छ ।’ 

पर्साका सीडीओ ढकालले गृहमन्त्री आफैंले टेलिफोन गर्दा काम गर्ने हौसला प्रदान गर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्