
चितवनको भरतपुर महानगरपालिका भित्रका मुख्य सडक तथा चोकमा ‘स्मार्ट सडक बत्ती’ जडान शुरू गरिएको छ ।
भरतपुर महानगर र नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजनाको संयुक्त साझेदारीमा काम थालिएको हो ।
अभियान अन्तर्गत ७८ दशमलव १ किलोमिटर सडक क्षेत्रमा १ हजार ९३३ बत्ती जडान गरिने छ ।
महानगर प्रमुख रेनु दाहालका अनुसार मूल्य अभिवृद्धि करसहित ११ करोड ४९ लाख ८९ हजार ३०० रुपैयाँ ठेक्का सम्झौता भएसँगै सेफ स्टिल/सूर्योदय ऊर्जा/टपशन जेभीले शुक्रनगरबाट काम शुरू भएको हो ।
आगामी वैशाखसम्म काम सम्पन्न हुने जनाइएको छ । उनले भने, ‘सुरक्षा र सुन्दरताको दृष्टिकोणले भरतपुरलाई उत्कृष्ट शहर बनाउन ‘उज्यालो शहर’ अभियान सहयोगी बन्ने छ ।’
महानगरका मुख्य शहरी क्षेत्र जिल्ला प्रशासन, हाकिम, चौबिसकोठी, वीरेन्द्र क्याम्पस, शहीद, पुलचोक, पोखरा बसपार्क दियालो बङ्गला र मालपोत चोकमा हाईमास्ट बत्ती जडान गरिँदैछ ।
बाँकी सडकलाई स्मार्ट बत्ती जडान गरेर झिलिमिली बनाइने योजना छ ।
उनले भने, ‘अन्य पूर्वाधारको निर्माणसँगै सुन्दरता र सहजताका लागि भरतपुर महानगरमा यस अनिर्वाय थियो ।’ अन्य प्रमुख सडकको समेत सर्वे गरेर प्राधिकरणमा पठाइएको उनले बताए । यस अभियान अन्तर्गतको बत्ती जडान योजनामा महानगरको १० प्रतिशत साझेदारी छ ।
विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका इञ्जिनीयर राजेन्द्र पौडेलले उज्यालो शहर अभियानमार्फत महानगरमा रातका समयमा यात्रु र सवारीसाधनको आवतजावत सहज बनाउन सडक बत्ती जडान शुरू गरिएको जानकारी दिए ।
हाकिम चोक–गीतानगर–जगतपुर सडक खण्डको १८ दशमलव ४६ किलोमिटर सडकमा ४०१ सडक बत्ती जडान हुनेछन् ।