
बलेफी हाइड्रोपावर लिमिटेडले माघ २७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १८ करोड २७ लाख ९७ हजार रुपैयाँ मूल्य बराबरको १८ लाख २७ हजार ९७० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बिक्री खुला गर्ने लागेको हो ।
निष्कासन गरिने शेयरमध्ये ६० प्रतिशत अर्थात् १० लाख ९६ हजार ७८२ कित्ता सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्रहरू जुगल गाउँपालिकाको वडा नम्बर २, ३ र ४ का वासिन्दाका लागि र आयोजनाको प्रसारण लाइनबाट प्रभावित क्षेत्रहरू जुगल–५ र ७ का वासिन्दा, बलेफी गाउँपालिका–१, ३, ६ र ७ तथा सुनकोसी गाउँपालिका–७ का वासिन्दाका लागि बाँकी रहेको ४० प्रतिशत अर्थात् ७ लाख ३१ हजार १८८ कित्ता शेयर निष्कासन बिक्री खुला गरिने भएको छ ।
कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रअनुसार प्रभावित स्थानीयले माघ २७ देखि छिटोमा आगामी फागुन १२ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे फागुन २७ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने छन् ।
कम्पनीले हाल जुगलको बलेफी खोलामा कूल ३६ मेगावाट क्षमताको बलेफी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजना निर्माणको कूल अनुमानित लागत ७ अर्ब ६५ करोड हुने जनाएको छ ।
स्थानीयले नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्बा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । कुमारी बैंकको जलविरे शाखा, एनसीसी बैंकको ढाँडे शाखा, ग्लोबल आईएमई बैंकको चौतारा शाखा, लक्ष्मी बैंकको चौतारा र खाडीचौर शाखा कार्यालयबाट शेयर आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।
धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्था अनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘इक्रानपी–आईआर बीबी’ ग्रेडिङ प्रदान गरेको छ ।
रेटिङअनुसार कम्पनीको हालको अवस्था दायित्व बहन गर्ने क्षमतामा औसत जोखिममा रहेको बुझिन्छ ।