२५ असार २०८३, बिहीबार

ललितपुर महानगर र केयूबीच शिक्षा क्षेत्रमा सहकार्य गर्न समझदारी

ललितपुर महानगर र केयूबीच शिक्षा क्षेत्रमा सहकार्य गर्न समझदारी

ललितपुर महानगरपालिका र काठमाडौं विश्वविद्यालयबीच शिक्षा क्षेत्रमा सहकार्य गर्न समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । 

समझदारी पत्रमा महानगरपालिका प्रमुख चिरीबाबु महर्जन र विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापाले हस्ताक्षर गरे । 

ललितपुर निवासी विद्यार्थीलाई ललितपुरमा रहेका काठमाडौं विश्वविद्यालयका स्कुलमा संचालित प्रत्येक शैक्षिक कार्यक्रममा स्नातक तथा स्नातकोत्तर तहमा एक सिट छात्रवृत्तिको व्यवस्था गर्ने समझदारी पत्रमा उल्लेख गरिएको छ । 

ललितपुर महानगर र काठमाडौं विश्वविद्यालयको संयुक्त प्रयासमा शैक्षिक गुणस्तर सुधारका लागि अक्षयकोष खडा गर्ने पत्रमा जनाइएको छ । 

साथै काठमाडौं विश्वविद्यालय स्कुल अफ आट्र्सका कार्यक्रमबाट मौलिकता झल्कने कला संस्कृति, सम्पदाको जगेर्नाका निमित्त भूमिका निर्वाह गर्ने उल्लेख गरिएको छ । 

ललितपुर महानगरमा रहेका सामुदायिक विद्यालयको वृत्ति विकास र शैक्षिक क्षमता विस्तारका लागि काठमाडौं विश्वविद्यालयसँग सहकार्य गरी योजना बनाउने उल्लेख छ । 

ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले अनौपचारिक रुपमा काठमाडौं विश्वविद्यालयसँग महानगरले धेरै काम गरेको बताउँदै हस्ताक्षर कार्यक्रमले औपचारिक रुप अघि बढ्न मार्ग प्रशस्त गरेको बताए । उनले ललितपुर महानगरपालिकाको शैक्षिक क्षेत्रको उन्नयनका लागि यो सहकार्य महत्वपूर्ण हुने दाबी गरे ।

उनले भने, ‘ काठमाडौं विश्वविद्यालयको एक्सिपटिजलाई महानगरको परिचय र गरिमा कला, संस्कृतिको खोज अनुसन्धानमा लगानी गर्न सकिन्छ । ’ समझदारी पत्रमा महानगरभित्रका विविध विषयमा दुई संस्थाले सहकार्य गर्ने उल्लेख गरिएको छ । 

विश्वविद्यालयका उपकुलपति भोला थापाले स्थानीय तहमा विशेष पहिचान बनाएको ललितपुर महानगरसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । 

स्थानीय तह र काठमाडौं विश्वविद्यालय एक अर्काका पुरक भएको बताउँदै शिक्षा स्थानीय तहको मातहतमा आएकाले स्थानीय तहले विश्वविद्यालयहरुसँग सहकार्य गरेर धेरै काम गर्न सक्ने बताए । अन्तर्राष्ट्रिय रुपमा इन्स्टिच्यूट अफ क्राफ्ट एण्ड डिजाइनको अवधारणा अघि बढी सकेको बताउँदै कला, संस्कृतिको जगेर्नाका लागि यस्ता इन्स्टिच्यूटको भूमिका महत्वपूर्ण हुने धारणा राखे । 

महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले काठमाडौं विश्वविद्यालयले शिक्षालाई जीवनसँग जोडेको बताए । समाजको गतिशिलता अनुसारका जनशक्ति उत्पादन गर्न विश्वविद्यालयको योगदान महत्वपूर्ण रहेको धारणा व्यक्त गरे । उनले भने, दुई संस्थाबीच व्यवस्थित र प्रणालीबद्ध रुपमा काम गर्नका लागि यो कार्यक्रम आयोजना गरेका हौं ।’

कार्यक्रममा काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. सुबोध शर्मा, काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशन डीन प्रा.डा.बालचन्द्र लुइँटेल, काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट डीन प्रा.डा.देविप्रसाद विडारी,  काठमाडौं विश्वविद्यालय स्कूल अफ आर्टसका का.मू डीन एक्कुमाया पुनको उपस्थिति थियो । 

समझदारी पत्रमा उल्लेख भएका कार्यक्रम कार्यान्वयनका लागि महानगरको तर्फबाट महानगरका शिक्षा सल्लाहकार लोकबहादुर खड्का, र काठमाडौ विश्वविद्यालयको तर्फबाट एसोसियट डीन सुजन चित्रकार समन्वयकर्ताको भूमिकामा रहेन समझदारी पत्रका उल्लेख छ ।
 

salt training

कमेन्ट गर्नुहोस्