जिल्ला अदालत मकवानपुरले एउटा हत्या मुद्दामा पक्राउ परेकालाई हत्यामा संलग्न जीवित रहेसम्म कैदको फैसला गरेको छ ।
जिल्ला अदालत मकवानपुरले २०७६ माघ ४ गते तेस्रो लिंगीको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका ३ जनालाई कैद फैसला सुनाएको हो ।
मकवानपुर प्रहरीले त्यस दिन बिहान हेटौंडा–५ क्याम्पाडाँडामा हत्या गरी फालिएको अवस्थामा भेटिएकी तेस्रो लिंगी (नाम परिवर्तन ‘कमलडाँडा एफ’) को हत्यामा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरेको थियो ।
हत्यामा संलग्न अन्यमध्ये १ जना नाबालकलाई १६ वर्ष कैद, अर्का १ जनालाई ४ वर्ष कैद र १ जना महिलालाई १ वर्ष कैदसहित क्षतिपूर्ति र जरिमानाको फैसला सुनाएको छ ।
मकवानपुर जिल्ला अदालतका मुख्य न्यायाधीश डिल्लीरत्न श्रेष्ठले हत्या गरिएकी तेस्रोलिंगीको परिवारलाई क्षतिपूर्ति भराउने समेत फैसला भएको जानकारी दिए ।
मुख्य न्यायाधीश श्रेष्ठका अनुसार हत्यामा संलग्न रहेका सुशील थापा, बुद्ध लामा र आशिष बललाई जबरजस्ती करणी, कर्तव्य गरी हत्याको आरोपमा जीवित रहेसम्म कैद, डाँकाको आरोपमा ९ वर्ष कैद र ९० हजार जरिमाना, पीडितको परिवारलाई जनही ३ लाख रुपैयाँको दरले क्षतिपूर्ति भराउने फैसला भएको छ ।
हत्यामा संलग्न रहेका नाबालक नाम परिवर्तन ‘सिमलटार जेड’लाई १६ वर्ष ८ महिना कैद, डाँकातर्फ ९ वर्ष कैद र ६० हजार जरिमाना तथा पीडितको परिवारलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको छ ।
अर्का आरोपित सिमोन परियारलाई बलात्कार र हत्यातर्फ ४ वर्ष कैद, डाँकातर्फ ९ वर्ष कैद र ९० हजार जरिवाना तथा पीडितको परिवारलाई १ लाख रुपैयाँ क्षतिपूर्ति र तेस्रोलिंगीको मोबाइल प्रयोग गर्ने डोलमाया तामाङलाई १ वर्ष कैद र १० हजार जरिवाना तोकी फैसला भएको श्रेष्ठले जानकारी दिए ।
पीडितको परिवारलाई थप ५ लाख रुपैयाँ पीडित राहत कोषबाट क्षतिपूर्ति भराउने समेत फैसला भएको छ । राजधानीमा खबर छ ।