
पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १०६.८२ अंकले वृद्धि भएको छ ।
गत साताको बिहीवार अन्तिम कारोवारको दिन नेप्से परिसूचक १५१.६१ अंकले गिरावट आएर २७६९.९३ अंकमा झरेको थियो ।
यो साता चार दिन कारोवार भएको नेप्से परिसूचक दुई दिन बजार ओरालो लाग्दा दुई दिन भने वृद्धि भएको छ ।
यो साताको चार दिनको कारोवारमा नेप्से परिसूचक १०६.८२ अंकले बढेर २८७६.७४ विन्दुमा पुगेको छ ।
अघिल्लो साता १५१.६१ अंकले गिरावट आएको नेप्से परिसूचक यो साता भने १०६.८२ अंकले वृद्धि भएको छ ।
साताको पहिलो कारोवारको दिन आइतवार नेप्से परिसूचक १०५.५५ अंक बढेर २८८५.५३ विन्दुमा पुगेको थियो ।
उक्त दिन नेप्से सेन्सेटिभ इण्डेक्स १९.१ अंक बढेको थियो भने फ्लोट इण्डेक्स ७.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.५७ अंक बढेको थियो ।
आइतवार कारोवारमा आएका २३१ कम्पनीको एक करोड २१ लाख ५५ हजार कित्ता शेयर ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार रूपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।
आइतवारको कारोवारमा नेप्सेसँगै कारोवार रकममा पनि उल्लेख्य सुधार भएको थियो ।
साताको दोस्रो कारोवार सोमवारको दिन शेयर बजार मापक नेप्से परिसूचक साढे १३ अंकले गिरावट आएको थियो ।
आइतवार १०५.५५ अंकले वृद्धि भएको नेप्से सोमवार भने १३.४८ अंक घटेर २८७२.०५ विन्दुमा झरेको थियो ।
सोमवार कारोवारमा आएका २२५ कम्पनीको एक करोड १ लाख ५ हजार कित्ता शेयर ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार रूपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।
सोमवार १३ अंकले गिरावट आएको नेप्से परिसूचक मंगलवार भने वृद्धि भएको थियो । मंगलवार नेप्से १९.२९ अंकले बढेर २८९१.३४ विन्दुमा पुगेको थियो ।
मंगलवार कारोवारमा आएका २२३ कम्पनीको १ करोड २१ लाख ६७ हजार ६०५ कित्ता शेयर ६ अर्ब ५७ करोड ४ लाख ४२ हजार ४१८ रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । सोमवार ५ अर्ब १५ करोड रुपैयाँको शेयर कारोवार भएको थियो ।
साताको बुधवार भने तामाङ जातिको मुख्य पर्व सोनाम ल्होसार परेकाले सरकारले सार्वजनिक बिदा दिएको थियो ।
सार्वजनिक बिदाको दिन नेप्से कारोवार पनि बन्द हुन्छ । त्यस्तै, साताको अन्तिम कारोवारका दिन बिहीवार नेप्से सूचक १४.५८ अंकले घटेर २८७६.७५ बिन्दुमा झरेको छ ।
त्यस्तै सेन्सेटिभ सूचक समेत ३.२६ अंकले घटेको छ । फ्लोट इण्डेक्स १.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१ अंकले घटेको छ ।
बिहीवार कारोवारमा आएका २२४ कम्पनीको १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता शेयर ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार १६२ रूपैयाँ बराबरको कारोवार भएको छ ।
पछिल्लो एक सातामा नेप्से परिसूचकसँगै लगानीकर्ताको सम्पत्तिमा पनि वृद्धि भएको छ । गत साता दुई खर्ब १३ अर्ब ९० करोड रूपैयाँले गिरावट आएको लगानीकर्ताको सम्पत्ति यो साता भने एक खर्ब ३६ अर्ब ७४ करोड रूपैयाँले वृद्धि भएको छ ।
गत बिहीवार शेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक बजार पूँजीकरण कूल ३९ खर्ब २८ अर्ब ६३ करोड रूपैयाँ रहेको थियो ।
यो साता एक खर्ब ३६ अर्ब ७४ करोड रूपैयाँले सम्पत्ति बढेर ४० खर्ब ६५ अर्ब ३७ करोड रूपैयाँमा पुगेको छ ।