
वास्तविक कारोबार नगरी कर छली गरेको आरोपमा ब्रिङ मिडिया डिस्ट्रिब्युसन प्रालिविरुद्ध राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ ।
उक्त कम्पनीका सञ्चालक चन्द्रबहादुर अधिकारीसहित व्यवस्थापनक सुरेन्द्र केसी र सुमन क्षेत्रीले व्यावसायिक रुपमा गरेको सम्झौताअनुसार प्राप्त हुने आयलाई लुकाएर वास्तविक कारोबार नदेखाएर मूल्य अभिवृद्धि कर र आयकर छली गरेको विभागले बताएको छ ।
स्टार इण्डिया प्रालि भारतका आधिकारिक विक्रेता जुपिटर मिडिया प्रालिका प्रोपाइटर अञ्जली अरोरा समेतको मिलेमतोमा मूल्य अभिवृद्धि कर र आयकर छली गरेको विभागको अनुसन्धानमा भेटिएको बताइएको छ ।
अधिकारीले ब्रिङ मिडिया डिस्ट्रिब्युसन प्रालिमार्फत मूल्य अभिवृद्धि कर ६ करोड ११ लाख ५५ करोड ५१८ रूपैयाँ र आयकरमा १२ करोड १६ लाख १८ हजार २३७ रूपैयाँ गरी १८ करोड २७ लाख ८३ हजार ७५२ रुपैयाँ बिगो कायम गरेर अदालतमा मुद्दा दर्ता गरेको विभागले विज्ञप्ति जारी गरेर बताएको छ ।
विभागले बिगो बराबरकै रकम सजाय माग दाबी पनि गरेको छ । बिगो र सजायसमेत गरेर ३६ करोड ५५ लाख ६७ हजार ५०४ रूपैयाँको माग दाबी गरेर अधिकारीसहित चार जनाविरुद्ध विभागले अदालतमा मुद्दा दर्ता गरेको हो ।