१२ असार २०८३, शुक्रबार
कमिसनले निम्त्याएको हत्या

उखुबारी हत्या प्रकरणः जग्गाको कमिसन एक्लै हत्याउन योजना बनाएर ३ साझेदारको हत्या

माघ २१, २०७८
उखुबारी हत्या प्रकरणः जग्गाको कमिसन एक्लै हत्याउन योजना बनाएर ३ साझेदारको हत्या

जग्गा कारोबारको कमिसनमा कुरा नमिल्दा ३ जनाको हत्या भएको रहस्य खुलेको छ । 

मोरङको धनपालथान गाउँपालिका– ७ स्थित उखुबारीमा माघ १२ र १३ गते प्रहरीले २ जनाको शव उत्खनन गरेर निकालेको थियो ।

उखुबारीबाट माघ १२ गते सप्तरीको शम्भुनाथ नगरपालिका– ४ का ३२ वर्षीय शम्भुकुमार चौधरी र माघ १३ गते सुनसरीको धरान उपमहानगरपालिका– ३ घर भई भक्तपुर बस्दै आएका ४८ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको शव भेटिएको थियो ।

माघ २० गते ललितपुरको गोदावरी नगरपालिका– १२ बाट तेह्रथुमका ६३ वर्षीय मोहन लिम्बूको शव उत्खनन् गरेर निकालिएको थियो । 

प्रहरीले हत्याको अभियोगमा सिरहाको सिरहा नगरपालिका– २१ घर भई काठमाडौंको बल्खु बस्दै आएका ३१ वर्षीय अनिल मण्डल, मोरङको जहादा गाउँपालिका–४ सिस्बनीका २९ वर्षीय अमित भन्ने दिनानाथ साह र धनपालथान गाउँपालिका– ७ कमलपुर पश्चिमटोलका ६२ वर्षीय नासिर आलमलाई पक्राउ गरी सार्वजनिक गरेको छ । 

घरजग्गाको कारोवार गर्दै आएका उनीहरूबीच कमिसनको विषयमा विवाद हुँदा हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । 

‘जग्गा व्यापारबाट आएको कमिसन एक्लै लिन हत्या भएको देखिन्छ,’ जिल्ला प्रहरी कार्यलय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनार्दन जिसीले पत्रकार सम्मेलनमा बताए ।

पक्राउ परेका अनिलकुमार मण्डलले कमिसन एक्लै लिनका लागि योजना बनाएर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

उनीहरूको साझेदारी हाइड्रोपावर कारोवार, जग्गा कारोवार र सहकारीमा समेत रहेको एसपी जिसीले बताए । 

पक्राउ परेका दिनानाथ र नासिरलाई अनिलले नै पैसा दिएर हत्या गर्न लगाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । तर उनले कति पैसा दिएका थिए भन्ने अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ । 

शुरूमा लिम्बुको हत्या गरेर शव गाडेपछि मण्डल दुवैजनालाई लिएर विराटनगर गएका थिए ।

विराटनगरको बसपार्क छेउमा रहेको मेट्रोसिटी होटलमा बसेका उनीहरूले त्यहीँ योजना बनाएको खुल्न आएको एसपी जिसीले बताए । 

‘श्रेष्ठ र चौधरीले लिम्बूको खोजी गर्दा आउँदैछ भनेर मण्डलले झूट बोलेको देखिन्छ,’ एसपी जिसीले भने । 

माघ ५  गते अनिलले आफ्नो योजनाअनुसार राजेन्द्रलाई होटलबाट लगेर हत्या गरेका थिए, तर त्यो कुरा शम्भुलाई जानकारी थिएन ।

त्यसको २ दिनपछि शम्भुको हत्या गरेर गाडेको प्रहरीको अनुसन्धानमा खुल्न आएको छ ।

डोरीले बाँधेर हत्या

ललितपुरको गोदावरी– १२ धापाखेलका प्रमेश थापा मगरको घरमा शव फेला परेका मोहन लिम्बूको घाँटीमा डोरीले बाँधेर हत्या गरेको खुलेको छ । 

त्यही प्रकृतिकै हत्या मोरङमा थप दुई जनाको भएको थियो ।

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार लिम्बूको शव डोरीले बाँधेको अवस्थामा थियो । प्रहरीका अनुसार उनलाई पुर्नका लागि ३०/३५ केजी नुन र २ बोरा सिमेन्ट प्रयोग गरेको देखिएको छ । 

अपराध महाशाखाका अनुसार लिम्बुको शव अनिलकुमारले पहिला गोदामका लागि भाडामा लिएको घरमा गाड्न खोजेका थिए ।

तर, प्लास्टर फुटाउन समस्या भएपछि बाहिर गाडेको उनले प्रहरीलाई बताएका छन् ।

मोरङमा रोजेन्द्र श्रेष्ठ र शम्भु चौधरीको हत्या डोरी र गम्छाले घाँटीमा कसेर गरेको पाइएको जिल्ला प्रहरी कार्यलय मोरङका एसपी जनार्दन जिसीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्