
विमानमा इन्धन भर्न ढिलाइ हुँदा परराष्ट्रमन्त्री नारायण खड्का झन्डै एक घण्टा विराटनगर विमानस्थलमै अलमलिएका छन् । यति एयरलायन्सको एनवाईटी ७८४ नम्बरको विमान विराटनगरबाट काठमाडौं उड्न ढिलाइ भएको हो ।
विमानस्थल डिपोका कर्मचारीको लापरवाहीले विमानको उडान ढिलो भएको हो ।
विराटनगरबाट काठमाडौंका लागि विमान उड्न ४५ मिनेट ढिलो भएको यति एयरलायन्सका प्रतिनिधि प्रेम कुँवरले बताए । इन्धन भर्न ढिलाइ भएकाले उडानमा ढिलाइ भएको उनले बताए ।
नेपाल आयल निगमको विमानस्थल डिपोका कर्मचारीको लापरवाहीले यस्तो समस्या आउने गरेको उनले बताए । प्रत्येक विमानमा इन्धन भरेपछि कर्मचारीले इन्धन भर्ने गाडी लिएर डिपोमा जाने र आउन ढिलो गर्ने गरेकाले समस्या हुने गरको बताएका छन् ।
उक्त विमान उड्न ३८ मिनेट ढिलो भएको नागरिक उड्डयन प्राधिकरण विराटनगरका निमित्त प्रमुख युगल बरालले बताए ।
साढे २ मा उड्नुपर्ने विमान केही समय अघि मात्रै उडेको नागरिक उड्डयन प्राधिकरण विराटनगरले बताएको छ ।