काठमाडौं, १७ असार –नेपाल वायुसेवा निगमले उत्पादन क्षमता वृद्धि गर्न र बजार प्रतिस्पर्धाका लागि सरकारसँग २० अर्ब रुपैयाँ माग गरेको छ । हाल खरिदको प्रक्रियामा रहेका दुईवटा एयरबस ए ३२० र दुई वटा वाइडबढी ए ३३० सँगै उत्पादन क्षमता अन्तर्राष्ट्रिय हवाई यातायात व्यापारमा प्रतिस्पर्धा गर्न निगमले उक्त रकम माग गरेको हो ।
निगमका अनुसार सञ्चालक समितिले निर्णय गरी २० अर्ब रुपैयाँको पूँजी सञ्चित गर्न सरकारलाई पत्राचार गरिसकिएको छ । निगमको ५९ औं वार्षिकोत्सव शमारोहमा बोल्दै महाप्रबन्धक सुगातरत्न कंशाकारले भने ।
महाप्रबन्धक कंसाकारले भने, ‘दुई वटा वाइडबढी खरिदका लागि पहिलो किस्ता आठ अर्ब रुपैयाँ विमान खरिद गर्ने कम्पनीलाई पठाइसकेका छौँ, अब चाँडै विमान आइसकेपछि उत्पादन क्षमता वृद्धि गर्नुपर्छ, यसमा सरकारले २० अर्ब रुपैयाँ पूँजी लगानी गर्नुपर्छ,’ निगमको प्रस्तावप्रति सरकारबाठ सकारात्मक प्रतिक्रिया आएको उनले बताए ।
विमान खरिदसँगै निगमले आन्तरिक व्यवस्थापन सुधार र प्राविधिक तथा जनशक्ति सुधारका काम अघि बढाएको छ ।
निगम सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नगरिक उड्डयन मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीले निगमको मागअनुसार २० अर्ब रुपैयाँ पूँजी लगानीका लागि अर्थ मन्त्रालयलाई पत्राचार गर्ने तयारी गरिएको जानकारी दिए ।
नौ प्रतिशत ब्याजमा २४ अर्ब रुपैयाँ खर्चेर विमान खरिद गर्न लागिएको भन्दै सचिव अधिकारीले व्यवस्थापन सुधारका लागि रणनीतिक साझेदार भित्र्याउने गृहकार्य गरिरहेको बताए ।
निगमका नायब महाप्रबन्धक गणेशबहादुर चन्दले दुई वटा वाइडबढी खरिदका लागि पहिलो चरणको किस्ता रकम पठाइएकाले चाँडै विमान आउने भन्दै भन्सार छुटको व्यवस्था मिलाइदिन सरकारलाई आग्रह गरे ।