१५ असार २०८३, सोमबार
सामाजिक सञ्जालबाट हैरानी

साइबर अपराधको जालो : नेता, कलाकारदेखि व्यापारीसम्म निशानामा, दैनिक आउँछन् उजुरी

माघ २३, २०७८
साइबर अपराधको जालो : नेता, कलाकारदेखि व्यापारीसम्म निशानामा, दैनिक आउँछन् उजुरी

पछिल्लो समय नेतादेखि कलाकारसम्म साइबर अपराधको शिकार बन्ने क्रम बढेको छ । सूचना प्रविधि र सामाजिक सञ्जालको बढ्दो पहुँचका कारण साइबर अपराधको शृंखला पनि बढेको हो ।

केही महिनाअघि व्यक्तिगत सम्बन्धका विषयहरू बाहिर ल्याइदिने भन्दै फेसबूकबाट धम्की र ब्ल्याकमेलिङको शिकार भएपछि नायिका आँचल शर्मा प्रहरीको शरणमा पुगेकी थिइन् ।

‘उहाँ केही महिनाअगाडि आउनुभएको थियो, विवाहपछि एकजना व्यक्तिले सामाजिक सञ्जालमार्फत दुःख दिएको विषय थियो,’ अनुसन्धानमा खटिएका ब्यूरोका एक अधिकारीले लोकान्तरसँग भने, ‘हामीले त्यसलाई सम्बोधन गरेर पठाएका थियौं ।’

त्यस्तै केही समयअघि पब्जी खेल्न पैसा अभाव भएपछि एक किशोरले कलाकार दीपाश्री निरौलाको फेसबूक अकाउन्ट ह्याक गरी पैसा मागेको विषय पनि सार्वजनिक भएको थियो ।

कलाकारहरू ब्ल्याकमेलिङ र ह्याकिङको विषय मात्र होइन, सामाजिक सञ्जालमार्फत गाली बेइज्जतीको उजुरी लिएर पनि प्रहरीमा पुग्ने गरेका छन् ।

‘धेरै कलाकारहरू सामाजिक सञ्जालमा एकअर्काविरुद्ध गालीगलौज गर्ने र त्यही विषयलाई लिएर उजुरीसहित आउने गर्नुहुन्छ,’ ब्यूरोका एक अधिकारीले लोकान्तरसँग भने ।

यस्ता उजुरी लिएर आउनेमा नायिका सुष्मा कार्की सबैभन्दा अगाडि छिन् । उनी प्रायः सामाजिक सञ्जालको झगडालाई लिएर ब्यूरोमा पुग्ने गरेकी छिन् ।

दैनिकजसो कोही न कोही कलाकार सामाजिक सञ्जालबाट साइबर अपराधको शिकार बनेको विषयलाई लिएर उजुरीसहित ब्यूरोमा पुग्ने गरेका छन् ।

कतिपयले आफ्नो भिडियोलाई काटेर अनर्थ लाग्ने गरी ट्रोल बनाएको विषयमा उजुरी दिने गरेका छन् ।

केही समयअघि जयकिसन बस्नेत २ दर्जन कलाकार लिएर साइबर ब्यूरोमा पुगेका थिए । 

एकजना युट्युबरले ‘टिकटकमा पैसा कमाउने भिखारी कलाकार’ भन्ने शीर्षकमा भिडियो बनाएपछि बस्नेतको नेतृत्वमा २ दर्जन कलाकारले ब्यूरोमा पुगेर उजुरी दिएका थिए ।

दिनमै १०/१२ घण्टासम्म टिकटकमा बसेर पैसा मागेको विषयमा बनेको भिडियो युट्युबको ट्रेन्डिङमा समेत परेको थियो ।

नेतालाई टिकटकले तनाव

कलाकार मात्र होइन नेता पनि समाजिक सञ्जाल प्रयोगकर्ताले सताएको भन्दै साइबर ब्यूरोमा उजुरी दिन आउने गरेका छन् ।

ब्यूरोका अनुसार प्रदेशका बहालवाला मन्त्रीदेखि केन्द्रका प्रभावशाली नेताहरू समेत ब्यूरोमा पुगेका छन् ।

अधिकांशले आफूहरूले सार्वजनिक ठाउँमा बोलेको भिडियो काटेर अनर्थ लाग्ने गरी टिकटक र फेसबूकमा भिडियो पोस्ट गरेको भन्दै उजुरी दिने गरेका छन् ।

‘नेताहरूबाट अनर्थ लाग्ने भिडियो बनाएर राखेको उजुरी धेरै आउँछन्,’ ब्यूरोका अर्का एक अधिकारीले भने, ‘उहाँहरूलाई हामीले सामाजिक सञ्जाल कसरी प्रयोग गर्ने भन्ने समेत सिकाएर पठाउँछौं ।’

ब्यूरोका अनुसार पुस महिनामा मात्र सांसदसहितका ६ नेताले टिकटकले समस्यामा परेको भन्दै उजुरी दिएका छन् । यसबीचमा प्रहरीले टिकटकका ४ अकाउन्टलाई बन्द गराएको छ ।

नेता मात्र होइन, पूर्व राजपरिवारका सदस्य समेत साइबर ब्यूरोमा उजुरीसहित पुगेका छन् ।

फेक आईडी बनाएर सामाजिक सहिष्णुतामा खलल पार्ने भिडियो अपलोड गरेको भन्ने उजुरी राजपरिवारका सदस्यका तर्फबाट परेको ब्यूरोले जनाएको छ ।

कालो कोट खोलेर उजुरी दिन आउँछन् वकिल

कसैले अपराध गरे भने कानूनको कठघरामा उभ्याउने काम वकिलको हो । तर तिनै वकिल ‘साइबर अपराधको निशाना परेँ’ भन्दै साइबर अपराध ब्यूरो धाउन बाध्य छन् ।

‘नाम चलेका वकिल सा’बहरू नचिनिने गरी आउनुहुन्छ । उहाँहरू पनि समाजिक सञ्जालबाट ठगिएको उजुरी आइरहेका छन्,’ साइबर अपराध अनुसन्धान गरिरहेका एक अधिकृतले लोकान्तरसँग भने, ‘उहाँहरूसँग सामाजिक सञ्जालमा बार्गेनिङ गरेको विषय बढी आएको छ ।’

साइबर अपराधको निशानामा पत्रकारहरू पनि परेका छन् ।

सामाजिक सञ्जाल ह्वाट्सएपमा आर्थिक प्रलोभन देखाउने खालका समस्याहरू आएका छन् भने बार्गेनिङ गर्ने गरेको भन्दै उजुरी दिन आउने गरेको ब्यूरोले जनाएको छ । 

अनलाइन शपिङ गर्दा ठगको निशानामा व्यापारी

साइबर ब्यूरोमा ठूला घरानाका व्यापारीहरू पनि ठगिएको गुनासो लिएर आउने गरेका छन् ।

अधिकांश व्यापारीहरू अनलाइनमार्फत महंगो समान किनेको, तर डेलिभरी हुँदा गुणस्तरहीन सामान आएको भन्ने उजुरीसहित ब्यूरोमा आउने गरेका छन् ।

‘व्यापारीहरूलाई अनलाइन शपिङ एप्सहरूले ठगेका उजुरी आउँछन्,’ ब्यूरोका अधिकारीले भने, ‘उहाँहरू पनि समाजिक सञ्जालको माध्यमबाट नै ठगिनुभएको छ ।’

चाइल्ड एब्युजमा ठूला घरानाका व्यक्ति

बालाबालिकालाई सामाजिक सञ्जालका म्यासेजहरूमा अश्लील फोटो तथा भिडियोहरू पठाउनेमा ९० प्रतिशत नाम चलेका व्यक्ति र ठूला घरानाका व्यक्ति हुने गरेको ब्यूरोले जनाएको छ ।

ब्यूरोका अनुसार प्रतिष्ठित व्यक्तिहरूले आफ्ना नातेदार, समकक्षी लगायतका १६ वर्षमुनिका बालबालिकालाई अश्लील फोटो र भिडियो पठाएर शोषण गरेको भन्दै उजुरी पर्ने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्