
भारत छत्तीसगढमा सत्तारुढ कांग्रेस विधायक छनी साहू, आफ्नो श्रीमान् विरुद्ध मुद्दा दर्ता गर्न र विपक्षी बीजेपीद्वारा उनको गिरफ्तारीको मागपछि क्रोधित भएकी छन् ।
आक्रोशित विधायकले सुरक्षा गार्ड र सरकारी गाडी फिर्ता गरेकी छन् । उनी आफैं श्रीमानसँगै एसपी कार्यालय पुगिन् र भनिन्- 'उनलाई पक्राउ गर'। श्रीमानलाई पक्राउ गरेपछि उनी स्कुटीमा घर फर्किइन् ।
यो रोचक र राजनीतिक घटना शनिवार छत्तीसगढको राजनान्दगाउँ जिल्लामा भएको हो ।
जिल्लाको खुज्जी विधानसभा क्षेत्रका कांग्रेस विधायक छनी साहूका श्रीमान् चन्दु साहूविरुद्ध एक चालकले अत्याचार निरोधक ऐनअन्तर्गत मुद्दा दायर गरेका छन् ।
यसबाट आक्रोशित विधायक साहुले आफ्नो सुरक्षा गार्ड, तीन पीएसओ र सरकारी गाडी फिर्ता गरिन् । त्यसपछि उनी श्रीमान् चन्दु साहुसँगै एसपी कार्यालय पुगिन् । विधायकले त्यहाँ उपस्थित प्रहरीलाई भने, ‘श्रीमानलाई ल्याएको छु, पक्राउ गर । उनीविरुद्ध मुद्दा दर्ता भएको छ ।' त्यसपछि प्रहरीले अभियुक्त चन्दु साहुलाई पक्राउ गरी अदालतमा पेश गरेको थियो । अदालतले साहुलाई जेल पठाएको छ ।
विधायक छनी साहूले राजनन्दगाउँ जिल्ला र प्रहरी प्रशासनले आफ्ना श्रीमानविरुद्ध एकतर्फी कारबाही गरेको आरोप लगाएकी छन् । विरोधमा उनले सरकारबाट पाएको सुरक्षा फिर्ता गरेकी हुन् ।
उनका अनुसार मुख्यमन्त्री भूपेश बघेलले अवैध बालुवा उत्खनन र ओसारपसार रोक्न निर्देशन दिएका थिए । उनका श्रीमान् चन्दुले अवैध बालुवा ओसारपसारविरुद्ध आवाज उठाए पनि प्रहरी प्रशासनले श्रीमानलाई कारबाही गरेको उनले बताएकी छन् ।
अवैध बालुवा ओसारपसारलाई लिएर दुई महिनाअघि विधायक श्रीमान् र ट्रयाक्टर चालकबीच झगडा भएको थियो ।
त्यसपछि चालक बिरसिङ उईकेले चन्दुविरुद्ध एससी-एसटी पुलिस स्टेशनमा दुर्व्यवहार गरेको आरोपमा उजुरी दिएका थिए ।
यस घटनामा प्रहरीले विधायकका श्रीमानविरुद्ध अत्याचार निरोधक ऐनअन्तर्गत मुद्दा दर्ता गरेको थियो ।