काठमाडौं, १७ पुस– पूर्वप्रधानमन्त्री तथा नयाँशक्तिका संयोजक बाबुराम भट्टराईले टोपी दिवसको विरोध गरेका छन् । भट्टराईले टोपीले एकलसंस्कृतिलाई मात्र प्रतिबिम्बित गर्ने भन्दै मुलुकले बहुसंस्कृति स्वीकारिसकेको अवस्थामा एकलसंस्कृतिको कुरा कति जायज हो ? भन्दै प्रश्न गरेका छन् ।

उनले टोपी दिवसको प्रसंगलाई जोडेर अब बख्खु दिवस र धोती दिवस पनि मनाउनु पर्ने भन्दै सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘ टोपी दिवस रे ! अब बख्खु दिवस ! धोती दिवस !..संविधान र राष्ट्रगानमा समेत बहुजाति र बहुसांस्कृति स्वीकारिसकेको देशमा एकलसंस्कृतिका कुरा कति जायज़ ?’
भट्टराइको ट्वीटप्रति धेरैले असहमति जनाउँदै प्रतिक्रिया दिएका छन् । पगलु नामका ट्वीटर प्रयोगकर्ताले बाल्यकालमा भट्टराईले लगाएको टोपीसहितको फोटो राखेर प्रतिक्रिया दिँदै सोधेका छन्, ‘यो फूली के हो ?’
भट्टराईले आइतबार साँझ गरेको ट्वीटमा राती अबेरसम्म ७८० बढीले प्रतिक्रिया दिएका छन् ।
