३१ जेठ २०८३, आइतबार

समाचारमा अतिरञ्जना नगर्न सञ्चार सचिवको आग्रह

समाचारमा अतिरञ्जना नगर्न सञ्चार सचिवको आग्रह

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले सञ्चारमाध्यमका समाचारमा अतिरञ्जना भएमा समाजमा भ्रम सिर्जना हुने बताएका छन् ।

युनेस्को नेपालका निम्ति नेपाल राष्ट्रिय आयोगको सहयोगमा तुलसादेवी हरिहर फाउन्डेसनले क्रियाशील पत्रकारका लागि आयोजना गरेको आचारसंहिता सम्बन्धी भर्चुअल तालिममा सचिव अर्यालले जनतालाई सही र छिटोछरितो सूचना प्रवाह गर्न सकेमा पत्रकारिता जगत् व्यावसायिक, निष्पक्ष, स्वतन्त्र र मर्यादित बनाउन योगदान मिल्ने बताए ।

उनले पत्रकारिता क्षेत्रमा कुनै समस्या भएमा र सरकारले गर्नुपर्ने सहजीकरणमा मन्त्रालयले पहल गर्ने वाचा गरे ।
       
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. सुरेश आचार्यले ‘नेपाली रेडियोमा आचारसंहिता पालना र प्रयोग’बारे प्रस्तुत गर्दै पत्रकार आचारसंहिता पत्रकार आफैंले आफ्ना लागि तर्जुमा गरेर लागू गर्ने विषय भएकाले पत्रकार आफू त्यसबारे स्पष्ट हुनुपर्ने बताए ।

कार्यक्रममा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाइँले ‘टेलिभिजन पत्रकारितामा आचारसंहिता पालना र प्रयोग’, ‘राससका प्रधानसम्पादक एकराज पाठकले ‘नेपाली मिडियामा आचारसंहिता पालना र प्रयोग एवं बिहंगम दृष्टिकोण’, प्रेस काउन्सिल नेपालका प्रवक्ता दीपक खनालले ‘प्रेस काउन्सिलको परिचय, पत्रकार आचारसंहितामा कारबाहीको अवस्था र पालनाका उपाय’ तथा पत्रकार प्रकाश सिलवालले ‘समाचार संकलन र आचारसंहिता’बारे आ–आफ्नो प्रस्तुति गरेका थिए ।

फाउन्डेसनले शुक्रवार र शनिवार लुम्बिनी प्रदेशका पत्रकारका लागि तालिम आयोजना गरेको हो भने यसअघि अन्य प्रदेशमा यस्तै प्रकारको कार्यक्रम भौतिक र भर्चुअलरूपमा सम्पन्न गरेको कार्यक्रम संयोजक डिल्लीरमण सुवेदीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्