
गुल्मीको मालिका गाउँपालिका–७ घमिरका विपन्न १२ दलित परिवारले लालपुर्जा पाएका छन् ।
उनीहरू सडक निर्माणपछि गाउँ नै पहिरोको जोखिममा परेकाले २२ वर्षदेखि सिलादीस्थित सार्वजनिक जग्गामा बस्दै आएका थिए ।
सार्वजनिक वन क्षेत्रमा बसोबास गरिरहेका विपन्न परिवार घर, पानी, बिजुली लगायतका सुविधाबाट वञ्चित थिए ।
सार्वजनिक जग्गामा सुकुम्बासीका रूपमा बसोबास गरिरहेका दलित विपन्न परिवारको आधारभूत मानवअधिकार र नागरिक हकबाट वञ्चित भएको विषयलाई लिएर स्थानीय तहको आलोचना भएको थियो ।
मालिकाले जनप्रतिनिधि निर्वाचित भएकै वर्षबाट सुकुम्बासी व्यवस्थापनको प्रयास गरिरहेको थियो । उनीहरूलाई गाउँपालिकाले डिहीमा जग्गा खरिद गरेर बसोबासको व्यवस्था गरेको गाउँपालिकाका प्रमुख रीतबहादुर थापाले बताए ।
सिलादीको वन नजिकै ५४ वर्षीय जुठे सुनारले ऊर्जाशील २२ वर्ष बिताए । घर चुहिने थियो । उनी पिउने पानी र बिजुलीबाट पनि वञ्चित थिए ।
लालपुर्जाको आशमा थुप्रै पटक नेताको आश्वासन मात्र पाएका थिए तर अहिले गाउँपालिकाले लालपुर्जा नै वितरण गरेको छ । ‘लालपुर्जा पाइने आशमा थुप्रै वर्ष बितेको थियो तर अहिले हातमा पुर्जा नै आयो,’ उनले भने, ‘लालपुर्जाले मुहारमा खुशी छाएको छ ।’