
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सहयोग गर्ने देशहरू सबैलाई एउटै दृष्टिकोणबाट हेर्नुपर्ने बताएका छन् ।
शनिवार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई हेर्ने दृष्टिकोण अन्य देशहरूलाई जस्तै हुनुपर्ने बताएका हुन् ।
अन्य देशको सहयोगलाई हेर्ने दृष्टिकोण र एमसीसीलाई हेर्ने दृष्टिकोण फरक बनाउँदा परराष्ट्र सम्बन्धमा असन्तुलन आउने उनको भनाइ छ ।
'देशैपिच्छे अलग मापदण्डका आधारमा सहायता स्वीकार गर्ने हो भने परराष्ट्र सम्बन्ध असन्तुलन हुन्छ र देशलाई खतरा हुन्छ,' उनले भने ।
एमसीसीका विषयमा अन्योल खडा नगरी संसदबाट पास गर्नुपर्ने उनको तर्क छ ।
'एमसीसीमा अहिलेसम्म सरकारमा सहभागी दलहरूको सहभागिता रहेको छ । नेपालको स्वार्थका आधारमा आएको हो, बखेडा झिक्नु गलत प्रवृत्ति हो,' उनले भने ।
नेता महतले सरकारले ल्याएका प्रस्ताव संसद्मा टेबुल गराउनु सभामुखको दायित्व भएको बताए ।
'सरकारले ल्याएको प्रस्तावमा सभामुखले म यो संसद्मा पेश गर्छु, यो गर्दिनँ भन्ने जिम्मेवारीभित्र पर्दैन,' उनले भने । संसद्मा छलफल भए यस विषयमा निकास निस्कने उनको भनाइ छ ।