
हास्यव्यङ्ग्यको क्षेत्रमा 'चट्याङ मास्टर’ को नामले चर्चित कृष्णमुरारी गौतमले ज्येष्ठ नागरिकका हकहितका लागि बहुआयामिक अभियान शुरू गरेको एक दशक नाघ्यो ।
जीवनको उत्तरार्धमा पुगेकाहरूलाई सुरक्षित, सम्मानित र सक्रिय जीवन जिउने अवसर र उपायको खोजीमा उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पुर्याएको योगदानको कदर गर्दै संयुक्त राष्ट्र सङ्घीय शिक्षा, विज्ञान तथा संस्कृति कार्यालय (युनेस्को)बाट सन् २०२० को अन्तर्राष्ट्रिय शिक्षा पुरस्कारबाट उहाँ सम्मानित हुनुभएको थियो ।
एजिङ नेपालले सञ्चालन गरेको 'ज्येष्ठ नागरिक आधारभूत शिक्षा कार्यक्रम’ विश्वभरिका अनेकौँ प्रतिस्पर्धीमध्ये सर्वोत्कृष्ट ठहरिएको थियो ।
युनेस्को किङ्गसेजोङ्ग शिक्षा पुरस्कार हरेक वर्ष विश्वभरिका अनेक प्रतिस्पर्धीमध्ये दुई व्यक्ति या संस्थालाई फ्रान्सको पेरिस स्थित युनेस्को मुख्य कार्यालयद्वारा दिने गरिन्छ ।
एजिङ नेपाल नामक गैरसरकारी संस्थाका संस्थापक अध्यक्ष गौतमका अनुसार एजिङ नेपालले ज्येष्ठ नागरिकको हक, अधिकार र सेवा सुविधामा पहुँच पुर्याउने उद्देश्य राखेको छ ।
बुढ्यौली समस्या होइन वरदान हो तर बुढ्यौलीप्रति रहेको सामाजिक तथा सरकारी दृष्टिकोण या अवधारणाचाहिँ समस्या हो भन्छन्, चट्याङ मास्टर अर्थात् कृष्णमुरारी गौतम ।
उनका अनुसार एक्काइसौं शताब्दीलाई बूढाबूढीको शताब्दी पनि भनिन्छ किनभने यो शताब्दीको उत्तरार्धमा विश्वमा ज्येष्ठ नागरिकको जनसङ्ख्या अत्यधिक हुन गई यसले समाज र राष्ट्रको आधारभूत संरचना तथा सञ्चालनमा आमूल परिवर्तनहरू ल्याउने छ ।
यो आउँदो समस्या पनि हो र अवसर पनि । त्यस्तो परिवर्तनसँगै आउने समस्या समाधान गर्न हरेक राष्ट्र आफ्नो भरमग्दुर प्रयत्न गर्दैछन् भने जनसङ्ख्या संरचनामा त्यस्तो परिवर्तनबाट प्राप्त हुने नयाँ अवसरको अत्यधिक लाभ उठाउन पनि तयारीहरू गरिँदै छन् ।
आफूले गरेको कामले नेपाललाई विश्वसामु चिनाउन पाएकोमा अत्यन्त खुसी छन्, चट्याङ मास्टर । संयुक्त राष्ट्रसङ्घले न्युयोर्क स्थित आफ्नो मुख्य कार्यालयमा आयोजित विश्व ज्येष्ठ नागरिक दिवस १ अक्टुबर २०१९ समारोहमा सम्बोधन गर्न चट्याङ मास्टरलाई मुख्य वक्ताका रूपमा आमन्त्रित गरेको थियो ।
नेपालका हरेक वडामा एउटा ज्येष्ठ नागरिक मिलन चौतारी स्थापना गर्ने अभियानमा पनि उनी उत्तिकै सक्रिय छन् ।
चट्याङ मास्टर हास्यव्यङ्ग्य साहित्यमा लामो समय बिताएका व्यक्ति हुन् । उनका छ वटा 'चट्याङ गीता’ नामक हास्यव्यङ्ग्यप्रधान पुस्तकहरू प्रकाशित छन् ।
एक दर्जनभन्दा बढी भजन तथा राष्ट्र गीतका रचयीता गौतमले आफ्नो जन्मस्थल भक्तपुरको गीति अल्बम पनि निकाल्नुभएको छ । हास्य व्यङ्ग्य क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यले २०५५ सालमा चट्याङ मास्टरलगायत केही साहित्यकार मिलेर 'सिस्नुपानी नेपाल’ स्थापना गरेका थिए ।
अहिले 'सिस्नुपानी’ ले देउसी भैलोको माध्यमबाट राजनीतिज्ञलाई चोटिलो व्यङ्ग्य प्रहार गर्ने गर्छ भने हास्यव्यङ्ग्य साहित्यको प्रचार र प्रसारमा अहं भूमिका निर्वाह गर्दै आएको छ ।
अहिले चट्याङ मास्टर बुढ्यौली साहित्यको स्थापना तथा प्रवद्र्धनमा लागेका छन्।
बाल साहित्य, युवा साहित्य, नारी साहित्यजस्तै पाका व्यक्तिका मनोभाव केन्द्रित रचनालाई बुढ्यौली साहित्य भन्ने गरिन्छ जो जुनसुकै उमेरका व्यक्तिको रचना हुनसक्छ ।
ज्येष्ठ नागरिकको विषयमा साहित्य लेख्नेलाई सम्मान पनि गर्छन् । धेरै साहित्यकारले ज्येष्ठ नागरिकको बारेमा नलेखेकोमा गौतम गुनासो पनि गर्छन् ।
अहिले 'एजिङ नेपाल’ मार्फत शिक्षा लिएका ज्येष्ठ नागरिकले पनि आफ्नोबारेमा साहित्य लेखे भने आफू सन्तुष्ट हुने उनको भनाइ छ ।
चट्याङ मास्टर भन्छन्, 'हामीले वृद्धवृद्धाको चासोको विषयबाहेक अरू केही पनि काम गर्दैनौँ र उनीहरूको चासोका कुनै पनि विषयमा काम गर्न हामी पछि पर्दैनौँ । ’ गोरखापत्र दैनिकमा सुकृत नेपालले खबर लेखेका छन् ।