रुसको सुदूरपूर्वी जलक्षेत्रमा आइपुगेको अमेरिकी पनडुब्बीलाई समातेको अनि उपयुक्त तरिका अपनाएर भगाएको रुसी सेनाले शनिवार जानकारी दिएको छ ।
रुसले पनडुब्बीलाई हट्नका लागि अनुरोध गरे पनि बेवास्ता गरेपछि भगाइएको बताइएको छ ।
रुसका राष्ट्पति भ्लादिमिर पुटिन र अमेरिका राष्ट्रपति जो बाइडनले फोनमा कुराकानी गरेलगत्तै अमेरिकी र रुसी जलसेना आमनेसामने भएका हुन् ।
रुसको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै इन्टरफ्याक्सले अमेरिकी पनडुब्बी पसिफिक कुरिल टापुसमूह नजिक पत्ता लागेको जानकारी दियो । त्यतिखेर रुसले पसिफिक फ्लीटका साथ जलसैन्य अभ्यास गरिरहेको थियो । अमेरिकी पनडुब्बीलाई तत्कालै पानीमाथि देखिन भनिएको थियो ।
उक्त आदेशलाई अमेरिकी पनडुब्बीका कर्मचारीले बेवास्ता गरेका थिए । त्यसपछि रुसको मार्शल शापोश्निकोभ फ्रिगेटले उपाय अपनाएर हटाएको थियो ।