
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले माओवादी र नेकपा (एकीकृत समाजवादी) बाहेकका अन्य दलसँग चुनावी समीकरण हुन सक्ने बताएका छन् ।
आइतवारदेखि मोरङको विराटनगरमा शुरू भएको चुनाव केन्द्रित प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिष्ट विचारधारा मिल्ने साना दलसँग चुनावी समीकरण हुन सक्ने बताएका हुन् ।
माओवादीसँग विचार नमिल्नेहरूलाई समेटेर चुनावमा जाने उनको भनाइ छ । अन्य साना दलहरूलाई समेटेर कम्युनिष्ट आन्दोलनलाई उचाइमा पुर्याउने समेत उनले बताए । उनले प्रचण्ड र माधव नेपालसँग भने कुनै सहकार्य नहुने उनले बताए ।
‘प्रचण्डलाई अगाडि सारेर उनकै बुई चढ्दै एमालेको लोकप्रिय सरकार ढाल्ने माधव नेपाल कम्युनिष्ट विरोधी हुन्,’ उनले भने, ‘अध्यक्ष ओलीलाई अध्यक्ष, प्रधानमन्त्री र संसदीय दलबाट हटाउने जस्ता गतिविधिमा प्रचण्ड र माधव नेपाल लागेकाले विकल्प नभएपछि संसद विघटन गर्नु परेको थियो ।’
कार्यक्रममा उपमहासचिव प्रदीप ज्ञवाली, सचिव योगेश भट्टराईलगायतका नेताले सम्बोधन गरेका थिए ।
प्रशिक्षणमा एमालेका केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी, जिल्लाका पदाधिकारी, पालिका प्रमुख, उपप्रमुखलगायतको सहभागिता छ । प्रशक्षिण सोमवारसम्म चल्ने छ ।