
लुम्बिनी प्रदेश सरकारले आफ्नो स्थापना दिवस दाङमा मनाउने भएको छ । प्रदेश सरकारले फागुन ३ लाई प्रदेश स्थापना दिवसका रुपमा मनाउने गरेको छ ।
तीन दिवसीय कार्यक्रम स्थायी राजधानी तोकिएको देउखुरी क्षेत्रमा मनाउने प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले जानकारी दिए ।
अस्थायी मुकामको साटो स्थायी राजधानी तोकिएको स्थानमै प्रदेश स्थापना दिवस मनाउन लागिएको उनको भनाइ छ । कोरोना महामारी अझै रहेकोले स्वास्थ्य मापदण्ड पालना गर्दै सरकारले घोषणा गरेको पदक र विभूति प्राप्त गर्ने संस्था र व्यक्तिहरू, कार्यक्रम आयोजना हुने स्थानीय तहका जनप्रतिनिधि, स्थानीय पालिकामै रहेका संघसंस्थाका प्रतिनिधिहरुलाई मात्र कार्यक्रममा आमन्त्रण गरिएको छ ।
प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीसहित मन्त्रीहरूको सहभागिता रहने छ । फागुन ३ गतेलाई प्रदेशभर सार्वजनिक बिदासमेत दिइएको छ ।