
अर्थ मन्त्रालयले मातहतको दुई प्रमुख निकाय आन्तरिक राजश्व विभाग र भन्सार विभागमा दुई सहसचिव पदस्थापन गरेको छ । अर्थ मन्त्रालयका अनुसार आन्तरिक राजश्व विभागको महानिर्देशकमा अर्थ मन्त्रालयका सहसचिव एवम प्रवक्ताको जिम्मेवारी सम्हालेका रितेशकुमार शाक्य नियुक्त भएका छन् ।
अर्थ मन्त्रालय अन्तर्गतको राजस्व प्रशासनको अर्को महत्वपूर्ण निकाय भन्सार विभागको महानिर्देशकमा सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका सहसचिव कमल भट्टराईलाई नियुक्त भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
आन्तरिक राजस्व विभागका नवनियुक्त महानिर्देशक शाक्यले आइतबार साँझ मात्रै पत्र बुझेकाले अब भोलि सोमबारदेखि पदबहाली गर्ने जानकारी दिएका छन् । यस अघि आन्तरिक राजस्वका महानिर्देशक शोभाकान्त पौडेल र भन्सार विभागमा नारायणप्रसाद सापकोटा महानिर्देशक थिए । दुबै महानिर्देशक सरुवा भएपछि खाली रहेको पदमा दुई सहसचिव शाक्य र भट्टराई नियुक्त गरेको पनि अर्थ मन्त्रालयको भनाइ छ ।