
पश्चिम नेपालको पुरानो औद्योगिक शहर बुटवलमा जाडो मौसम जानै लाग्दै चुनावी गर्मी बढ्न थालेको छ । नारायणी पश्चिमकै उदीयमान शहर तथा लुम्बिनी प्रदेशको मुकाम हो बुटवल ।
निर्वाचनको मिति घोषणासँगै सधैं एमालेको विरासत रहँदै आएको बुटवलमा आफ्नो पकड कायम गर्न नेपाली कांग्रेस रणनीतिमा लागेको छ । कांग्रेसले राजनीति भेटघाट र लबिङ शुरू गरेको छ ।
कम्युनिस्ट किल्लाको रूपमा रहेको बुटवल उपमहानगरपालिकामा गठबन्धन बनाएरै भए पनि आगामी वैशाखमा हुने स्थानीय तह निर्वाचनमा एमालेको ‘आधार इलाका’ भत्काउने दाउमा कांग्रेस देखिन्छ । त्यसैले मेयर आफूले लिएर उपमेयर माओवादी वा अन्य सत्तारूढ दललाई दिएरै भए पनि बुटवलको नेतृत्वमा पुग्ने मौका कांग्रेसले कुरेर बसेको छ ।
२०५६ सालमा कांग्रेसका सांसद स्व. सूर्यप्रसाद प्रधानले बाहेर बुटवलबाट कांग्रेसले जित्न सकेको छैन । त्यो बेला एमाले विभाजन भएको फाइदा प्रधानले उठाएका थिए । अहिले एमाले विभाजनमा कांग्रेसले आँखा लगाएको छ तर एमाले विभाजनको असर बुटवलमा खासै छैन ।
बरू कांग्रेसभित्र गुटबन्दी बढी छ । त्यसको असर कांग्रेसको पालिका र क्षेत्रीय अधिवेशनमा चर्को रूपमा देखिएको थियो । नजिकिँदो निर्वाचनसँगै अब एमालेसँग भिड्न कांग्रेसले बुटवलमा कसलाई अगाडि ल्याउँला भन्ने सर्वत्र चासो देखिएको छ । कांग्रेस ५ दलीय गठबन्धन कायम रहनेमा आशावादी देखिन्छ ।
रूपन्देही कांग्रेसका प्रभावशाली नेता तथा गृहमन्त्री बालकृष्ण खाँणको गृहजिल्ला पनि हो । रूपन्देहीको राजनीति गृहमन्त्री खाँण र सार्वजनिक लेखा समिति सभापति तथा रूपन्देही क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य भरतकुमार शाहको वरिपरि चल्छ तर बुटवल कांग्रेसमा संस्थापनइतर समूह बलियो छ ।
आगामी निर्वाचनमा कांग्रेसबाट बुटवलको नेतृत्वमा पुग्न मुख्यगरी आधा दर्जन आकांक्षी देखिन्छन् । यसअघिका उम्मेदवार नगर सभापति खेलराज पाण्डे, क्षेत्रीय सभापति हरि लम्साल, क्रियाशील सदस्य रामेश्वर श्रेष्ठ र उद्योगी तथा महाधिवेशन प्रतिनिधि चुन्नु पौडेल, व्यवसायी सुरेन्द्र श्रेष्ठ र नेता हरिबहादुर आचार्य र रामबहादुर कार्की नेतृत्वका लागि आकांक्षी रहेका कांग्रेस नेताहरू बताउँछन् ।
पाण्डे र लम्साल कांग्रेस नेता डा. शेखर कोइराला समूहका नेताहरू हुन् भने श्रेष्ठ, पौडेल र आचार्य सभापति शेरबहादुर देउवानिकट मानिन्छन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेका मेयर शिवराज सुवेदीसँग कांग्रेस नगर सभापति तथा मेयरका उम्मेदवार खेलराज पाण्डे झण्डै २ हजार ४०० मत अन्तरले पराजित भएका थिए । सुवेदीको मत २३ हजार २४९ थियो भने पाण्डेको २० हजार ८५१ थियो ।
एमाले उम्मेदवारसँग कांग्रेस–माओवादीका उपमेयर समेत पराजित भएका थिए ।
उपमेयरमा माओवादीबाट उम्मेदवार बनेका जगतबहादुर पोखरेल एमाले उम्मेदवार गुमादेवी आचार्यसँग १० हजार बढी मत अन्तरले पराजित भएका थिए ।
आचार्यको मत २५ हजार ३०१ र पोखरेलको १४ हजार ७९२ मत थियो । नेकपा विभाजनपछि पोखरेल एमालेमै रहेका छन् ।
पाण्डे यसपटक पनि मेयरको उम्मेदवार बन्ने तयारीमा छन् । बुटवलमा कांग्रेसभित्र उनी नै बलियो उम्मेदवार रहेका कांग्रेस कार्यकर्ता बताउँछन् । स्नातक तहसम्मको अध्ययन पूरा गरेका पाण्डेले नेपाल विद्यार्थी संघको जिम्मेवारीबाट राजनीतिक यात्रा शुरू गरेका हुन् ।
२०३९ सालमा आदर्श मावि कोटाकोट स्याङ्जामा नेविसंघको सदस्यता लिएर राजनीति शुरू गरेका पाण्डे २०४४ सालमा अमृत साइन्स क्याम्पसको नेविसंघको सहसचिव भएका थिए ।
२०४६ सालमा उनी रुपन्देही आएका हुन् । ३ कार्यकाल कांग्रेस बुटवल नगर सभापति रहेका पाण्डे बुटवलको विकासका लागि कांग्रेसले जित्नुपर्ने बताउँछन् । पाण्डेले कांग्रेसभित्र पनि आफूलाई लोभलालचरहित, सामान्य परिवार, सरल र प्रस्ट वक्ताको रूपमा प्रस्तुत गर्ने गरेका छन् ।
सर्वसाधारणको समस्या समाधानमै समय बिताउने पाण्डेले बुटवलका हरेक गल्ली तथा चोकचोकमा हिँडेरै नागरिकका दुःखसुखमा सहभागी हुने गरेको दाबी गरे ।
अर्का आकांक्षी तथा महासमिति सदस्य रामबहादुर कार्कीले बुटवलमा यसपटक कांग्रेसले चुनाव जित्नुपर्ने बताए । नेतृत्वको लागि पार्टीले आफूलाई अगाडि सारे पछि नहट्ने उनले बताए । ‘अहिलै नै म हुँ भन्ने बेला आएको छैन,’ कार्कीले भने, ‘पार्टीले अगाडि बढ्न अनुरोध गरे पछि हट्दिनँ ।’
कार्की ३५ वर्षदेखि बुटवल कांग्रेसमा सक्रिय छन् । वडा सभापति, क्षेत्रीय सभापति, जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधि हुँदै अहिले महासमिति सदस्य छन् । कार्की कोइराला पक्षका नेता हुन् । २०४३ सालमा पाल्पाको रामपुरबाट बुटवल झरेर यहीँ राजनीतिमा सक्रिय नेता कार्की लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्ष समेत भएका थिए ।
अर्का आकांक्षी रामेश्वर श्रेष्ठले पनि आफू ३ कार्यकाल वडाध्यक्ष भएका नाताले अबको नेतृत्वको लागि बुटवलमा उम्मेदवारी आफूले पाउनुपर्ने बताए । ‘कांग्रेसप्रति अहिले जनताको विश्वास बढ्दै गइरहेको छ,’ श्रेष्ठले भने, ‘अब मलाई पार्टीले उम्मेदवार बनाएर नेतृत्वका लागि अगाडि सार्नुपर्छ । बुटवलमा कांग्रेसले जित्नुपर्छ ।’
श्रेष्ठ हालै कांग्रेसको क्षेत्रीय अधिवेशनमा रुपन्देही क्षेत्र नम्बर २ प्रदेशसभा (२) मा पराजित भएका थिए । अहिले उनी कांग्रेसको क्रियाशील सदस्य मात्र छन् । २०२० सालमा पाल्पाको भैरवस्थानबाट बुटवल झरेका श्रेष्ठ २०४३ सालदेखि कांग्रेसको सक्रिय राजनीतिमा छन् । श्रेष्ठ सभापति देउवा निकट नेता हुन् ।
बुटवलमा लामो समयदेखि सुकुम्बासी समस्या छ । झण्डै १५ हजार सुकुम्बासी मत छन् । सुकुम्बासी मत तान्न मुख्य ३ पार्टी एमाले, कांग्रेस र माओवादी केन्द्रले ठूलो कसरत गरिरहेका छन् । ३ वटै पार्टीले सुकुम्बासीलाई उनीहरू बस्दै आएको ठाउँको धनीपूर्जा दिने र अरू विकासका गतिविधि समेत पुर्याउने वाचा गरिरहेका छन् । सुकुम्बासी मत चलायमान मानिन्छ ।
अर्का आकांक्षी तथा कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ का सभापति हरि लम्सालले पनि पार्टीले टिकट दिए अगाडि सर्ने बताए । लम्साल २ कार्यकाल क्षेत्रीय सभापति भएका छन् । उनी २०४५ सालदेखि बुटवल झरेर पत्रकार महासंघ रुपन्देहीको अध्यक्ष, केन्द्रीय सदस्य हुँदै पार्टीको राजनीतिमा होमिएका हुन् । उनले मिलनसार नेताको रूपमा परिचय बनाएका छन् । उनी पनि कांग्रेसको कोइराला पक्षका नेतामा पर्छन् ।
नेविसंघका उपसभापति मुक्तिराज पौडेलले अब बुटवलमा कांग्रेसलाई स्थापित गर्न युवा नेतालाई अगाडि सार्नुपर्ने बताए । उनले आफू पनि बुटवलको नेतृत्वको आकांक्षी भएको बताए ।
पौडेलले भने, ‘अब युवालाई अगाडि नसारेसम्म कांग्रेस बलियो हुँदैन । नेतृत्वमा पुरानालाई मात्र नेता होइन, युवालाई अगाडि सार्नुपर्छ । अनि बल्ल कांग्रेस बलियो हुँदै जान्छ ।’
व्यवसायी तथा कांग्रेस महाधिवेशन प्रतिनिधि चुन्नुप्रसाद पौडेल पनि मेयरका आकांक्षी छन् । पौडेलले आफू कांग्रेसको राजनीतिमा २०३६ सालदेखि लागेको दाबी गरे । ‘बागलुङ, गुल्मी हुँदै बुटवलमा व्यवसायसँगै कांग्रेसको सबै राजनीतिमा म जोडिएको छु । मलाई पनि पार्टीले कम आकलन गर्नु हुँदैन,’ पौडेलले भने ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य तथा बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठ पनि बुटवलको मेयरको आकांक्षी रहेका कांग्रेस नेताहरू बताउँछन् । पूर्व क्षेत्रीय सभापति तथा भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्य क्षेत्री पनि मेयरका लागि कांग्रेसका कार्यक्रमहरू प्रस्तुत हुँदै आएका छन् ।
कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले फागुनको पहिलो हप्ता कार्यसमितिको बैठक बसेर चुनावी तयारी अघि बढाउने बताएको छ । कांग्रेसले अन्य स्थानीय तहभन्दा बुटवलमा बढी जोड दिएको छ ।