
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार २८ गते परमादेश दिएका चार न्यायाधीशविरुद्ध तत्काल महाभियोग प्रस्ताव दर्ता नहुने संकेत गरेका छन् । आवेग र प्रतिशोधमा नभई सुझबुझपूर्ण निर्णय लिने उनले बताए ।
संसद भवन नयाँ बानेश्वरमा सोमवार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले महाभियोगबारे आवेगमा निर्णय नगर्ने बताएका हुन् । ‘अहिले महाभियोगको कुरा गरेर स्थानीय चुनाव टार्ने षड्यन्त्र हुँदैछ, प्रतिशोध स्वरुप हामीले त्यस्तै गर्ने काम हुन्न,’ ओलीको भनाइ उद्धृत गर्दै एक सांसदले लोकान्तरसँग भने ।
यसअघि आइतवार साँझ बसेको एमाले सचिवालय बैठकले महाभियोगको ‘काउण्टर’ जवाफ दिने निर्णय गरेको थियो । एमालेका कतिपय सांसदले चार न्यायाधीशविरुद्ध पनि महाभियोग आउन सक्ने संकेत गरेका थिए ।
ओलीले अप्राकृतिक ढंगले गठन भएको वर्तमान सत्ता गठबन्धन संविधान मिच्ने काममा लागिपरेको आरोप लगाए । ‘अस्थिरतावादी शक्तिहरु लोकतान्त्रिक प्रणाली, लोकतन्त्रका कार्यान्वयन, सुदृढीकरण र संविधानको कार्यान्वयनमा व्यवधान पुर्याउन अगाडिदेखि नै लागिरहेका छन् । अस्वभाविक, कृत्रिम, अप्राकृतिक ध्रुवीकरण र तथाकथित गठबन्धन निर्माण गरेर अनेक तमासा भइरहेका छन्,’ ओलीले भने ।