
युक्रेनका विषयमा रुस र पश्चिमी मुलुकहरूबीच तनाव चर्किएमा संसारभरि खाद्यान्नको मूल्य बढ्न सक्ने चेतावनी खाद्य विशेषज्ञहरूले दिएका छन् ।
रुस र युक्रेन दुवै गहुँ र मकैको सबभन्दा ठूला उत्पादक मुलुक हुन् । ती दुवै देशले भारी मात्रामा खाद्यान्न निर्यात गर्छन् । त्यहाँ युद्ध हुँदा खाद्यान्नको दाम बढ्ने पक्का छ ।
सन् २०१४ मा क्राइमिया रुसमा विलय हुँदा पनि गहुँ र मकैको मूल्य बढेको थियो ।
जनवरी महिनाको मध्यदेखि गहुँको मूल्य तीव्र गतिमा बढेको विश्लेषकहरूले ध्यानाकर्षण गरेका छन् । परिणामस्वरूप, अन्तर्राष्ट्रिय बजारमा भाउ विगत नौ वर्षमा सबभन्दा धेरै भएको छ । युुक्रेन र रुसबीच तनाव चर्किएमा त्यो थप मूल्यवृद्धि अनियन्त्रित हुनेछ ।
युक्रेनमाथि आक्रमण गर्न रुस तयार रहेको अमेरिकाले बताएको छ । तर रुसले यसको खण्डन गरेको छ ।
रुस संसारमा गहुँको सबभन्दा ठूलो उत्पादक हो । संसारमा उब्जनी हुने कुल गहुँको १० प्रतिशत भाग रुसमा नै उब्जनी हुन्छ । गहुँको अन्तर्राष्ट्रिय निर्यातमा रुसको भाग २० प्रतिशत छ ।
त्यस्तै युक्रेन गहुँको पाँचौं ठूलो निर्यातक हो । अन्तर्राष्ट्रिय निर्यातमा उसको १० प्रतिशत हिस्सा छ । युक्रेन जौ र सूर्यमुखीको पनि ठूलो उत्पादक हो ।